बुटवल । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को महासचिव पदमा सन्दीप सापकोटाले आफ्नो उमेद्धवारी घोषणा गरेका छन् ।
नेपालका बचत तथा ऋण सहकारी संघसंस्थाहरुको केन्द्रीय छाता संगठन नेफ्स्कूनको निर्वाचन सहितको ३२औ साधारण सभामा आफु महासचिवको दावेदार रहेको सापकोटाले बताए । संघको वहालवाला संचालक समेत रहेका सापकोटा विगत २५ वर्ष देखि सहकारी अभियानमा कृयाशिल छन । यहि पौष ७ र ८ गते काठमाण्डौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन गईरहेको वार्षिक साधारणसभामा देशभरका बचत तथा ऋण सहकारी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितीमा आगामी चार वर्षे कार्यकालको लागि नयाँ संचालक समितिको निर्वाचन हुँदैछ । महासचिव पदमा उम्मेदवारी घोषणा गरेका सहकारी अभियान्त सापकोटाले सहकारीको शुद्धिकरण र सुदृढीकरण , सहकारी मार्फत उधमशिलताको बिकास र उत्पादनलाई जोड ,आयातमुखी अर्थतन्त्र निरुत्साहित र सहकारी मार्फत उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने एजेन्डा अघि सारेका छ्न । मिटरब्याजी,उच्चपद्स्थ कर्मचारी , नेताहरु, गैर ब्यावसायबाट कमाएका व्यापारीहरु सहकारी अभियानमा प्रवेश गरि सहकारीलाई नै बद्नाम गराउने कार्य गरेका छ्न त्यसको विरुद्धमा पनि उम्मेदवार दिन लागेको उनले बताए । `सहकारीको मुल्यमान्यता, सिद्धान्त र उदेश्य बिपरित भएका कार्यलाई निरुत्साहित गर्न मेरो उम्मेदवारी रहन्छ ।´ उनले लुम्बिनी हेडलाइन्ससंग भने -` सहकारी एेनको प्रस्तावनामा उल्लेख गरिएको सहकारी मार्फत गरिबी निबारण, सामाजिक र सास्कृतीक रुपान्तरण प्रमुख ध्यय अनुसार नै सहकारीलाई सन्चालन गरिनु पर्छ , त्यसैको लागि मेरो उम्मेदवारी हो ।´ सहकारी अभियान्ता सापकोटाले अहिले सहकारी अभियानले सक्षम नेतृत्व र सहि एजेन्डा खोजेको बताउदै त्यसको लागि आफू योग्य रहेको समेत दाबी गरे । ” चार बर्ष संचालक पदमा रहदा सिङ्गो सहकारी अभियानले क्रियाकलाप हेरि मुल्यांकन गरेको छ । अभियानमा हरेक आधारभुत बर्ग मजदुर, किसान, गरिबले जम्मा गरेको पैसाको सुरक्षण गर्न खेलेको भुमिकाबारेमा सबै जानकार नै हुनुहुन्छ ,उनले भने – त्यही नै हो मेरो जित्ने आधार । ” सहकारी अभियानको मजबुत संघको रुपमा स्थापित नेफ्स्कूनको आसन्न निर्वाचनलाई लिएर अभियान भित्र भावि नेतृत्वको विषयमा विभिन्न अडकलबाजीहरु चलिरहेका छन् । तिन ठुला राजनैतीक दलहरुको बाहुल्यता रहेको संघमा विशेष गरी नेकपा एमाले र नेपाली काङग्रेसले नेतृत्वमा आ -आफ्नो दाबी यस अघिनै प्रस्तुत गरिसकेका छन् ।
नेकपा माओवादी केन्द्र निकट सापकोटा वर्तमान नेफ्स्कून संचालक समितिभित्र विवाद रहित पात्रको रुपमा चिनिन्छन् । हाल उनी राष्ट्रिय सहकारी विकाश वोर्डको कार्यकारी सदस्यसहित राष्ट्रिय युवा परिषदको समेत सदस्य रहेका सापकोटा नेफ्स्कूनको लुम्बीनी प्रदेश प्रमुख समेतको जिम्मेवारीमा छन् । आसन्न नेफ्स्कून निर्वाचनमा निर्णायक शक्तिको रुपमा हेरिएको माओवादी केन्द्रले हालको वर्तमान सत्ता साझेदार दल नेपाली काङग्रेस वा नेकपा एमाले मध्येको सँग गठबन्धन गर्ने हो भन्ने चासोका साथ हेरिएको छ ।
नेफ्स्कूनको ३२औं साधारण सभाबाट संघको विनियममा व्यवस्था भए बमोजिम अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, सहसचिव र कोषाध्यक्ष सहित १९ जनाको संचालक समिति र लेखा सुपरिवेक्षण समिति संयोजकसहित तिन सदस्यीय लेखा तथा सुपरिवेक्षण समितिको निर्वाचन हुँदैछ । हाल नेफ्स्कूनमा करिव पाँच हजार बचत तथा ऋण सहकारी संघसंस्था आवद्ध हुनुका साथै २५ अर्ब माथिको वित्तीय कारोवार गर्दै आईरहेको छ ।