बुटवल । वामपन्थी राजनीतिमा सक्रिय खगराज भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्नु भएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता भट्टलाई शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री पदमा नियुक्त गर्नु भयो ।
एमालेको समर्थनमा मुख्यमन्त्री बनेका भट्टले पद तथा गोपनीयताको शपथग्रहण समेत गर्नु भयो । प्रदेश सभामा निर्वाचित भएको तीन वर्ष आठ महिनापछि भट्ट मुख्यमन्त्री बन्न सफल हुनु भएको हो ।
२०७९ सालको प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्र गठबन्धनका साझा उम्मेदवार रहनु भएका उहाँ डडेलधुरा–१ बाट १२ हजार ११२ मत ल्याएर निर्वाचित हुनु भएको थियो ।
को हुनुहुन्छ भट्ट?
२०३१ साल पुस २ गते डडेल्धुरा जिल्लाको तत्कालीन चिपुर गाउँ पञ्चायतको वडा नम्बर ६ (हाल अजयमेरु गाउँपालिका वडा नम्बर ४) मा खगराज भट्ट जन्मिनु भएका भट्टको बुवा राम दत्त, आमाको नाम गोमती देवी हो । बुवा आमाको जीवित ६ वटा सन्तानमध्ये उहाँ साइँला छोरा हुनुहुन्छ ।उहाँको श्रीमतीको नाम मञ्जु बम हो । भट्टका २ छोरा छन् ।
माओवादी जनयुद्धकालमा भट्ट परिवारबाटै ६ जना पूर्णकालीन कार्यकर्ता थिए । भट्टका जेठा दाइ जयराज भट्ट सुदूरपश्चिममा सबैभन्दा उच्च तहबाट जनयुद्धमा बलिदान दिएका नेता हुनुहुन्छ । मुख्यमन्त्री भट्ट २०५९ साल जेठ २३ गते तत्कालीन बझाङ–बाजुराको इन्चार्जको रूपमा कार्यरत रहँदा बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकामा उहाँका दाइले सहादत प्राप्त गर्नु भयो ।
२०४७ साल असार २८ गते भट्टले तत्कालीन नेकपा एकता केन्द्रको पार्टी सदस्यता लिनु भएको हो। २०५० साल असोज १३ बाट उहाँ पूर्णकालीन रूपमा पार्टीमा लग्नु भयो । २०५२ फागुन २४ गते पक्राउ परेका उहाँ साढे ९ महिना जेलमा बन्दी हुनु भयो । उउहाँ २०५८ सालमा साविकको दार्चुला–बैतडी–डडेल्धुराको तत्कालीन माओवादीको जिल्ला सेक्रेटरी, २०५९ सालमा जिल्ला इन्चार्ज हुँदै २०६० सालबाट केन्द्रीय समितिमा निरन्तर कार्यरत हुनुहुन्छ । पार्टीमा लामो समय सुदूरपश्चिम प्रदेश राज्य समितिको सचिव भएका उहाँले प्रदेश इन्चार्ज भएरसमेत काम गर्नु भयो ।