Nepali News Portal

श्रेष्ठको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ । उहाँको पार्थिव शरीरमा सभापति गगन थापाले पार्टीको झण्डा ओढाउनु भएको हो ।

‎पूर्वउपप्रधानमन्त्री समेत रहेनु भएका श्रेष्ठको ८३ वर्षको उमेरमा मंगलबार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएको थियो । उहाँको आजै (बुधबार) शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।
‎वि.सं. २००१ मा जन्मिनु भएको नेता श्रेष्ठले नेपाली लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा हुनुहुन्थ्यो । २०१७ सालमा विद्यार्थी जीवनदेखि नै प्रजातन्त्र र लोकतन्त्रको पक्षमा निरन्तर संघर्ष गरेका श्रेष्ठले २०३६ सालको जनमतसंग्रहमा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्नु भएको थियो ।
‎कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पार्टीले २०४२ सालमा सुरू गरेको सत्याग्रह, २०४६ सालको जनआन्दोलन र २०६२–०६३ को जनआन्दोलनमा नेता श्रेष्ठले अग्रपंक्तिमा रहेर ऐतिहासिक भूमिका निर्वाह गरेको  शोक वक्तव्यमा उल्लेख गर्नु भएको छ ।

‎नेता श्रेष्ठले २०४२ देखि २०४८ सम्म कांग्रेस स्याङ्जाको सभापतिको जिम्मेवारी सम्हाल्नु भएको थियो । प्रजातन्त्र पुनस्र्थापनापछिको पहिलो आमनिर्वाचन–२०४८ मा उहाँ  स्याङ्जा–१ बाट निर्वाचित हुनु भएको थियो ।

‎२०४८ को आमनिर्वाचनपछि गठन भएको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कांग्रेसले नेता श्रेष्ठलाई वाणिज्यमन्त्रीको जिम्मेवारी सुम्पिएको थियो । उहाँ  २०५१ को मध्यावधि निर्वाचनमा भने स्याङ्जा–१ बाट पराजित हुनु भयो ।

२०५६ को निर्वाचनबाट फेरि प्रतिनिधिसभा सदस्यमा विजयी भएका श्रेष्ठलाई कांग्रेसले मुख्य सचेतक बनाएको थियो । उहाँले २०५७ मा वन मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो । ‎कांग्रेस विभाजनका क्रममा नेता श्रेष्ठ नेपाली कांग्रेस (प्रजातान्त्रिक) को पक्षमा उभिनु भयो । उहाँले २०५९ देखि २०६३ सम्म कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापति भएर पार्टी सञ्चालन गर्नु भएको थियो । पार्टी एकीकरणपछि नेता श्रेष्ठले उपसभापतिको जिम्मेवारी पाउनु भएको थियो  । पहिलो संविधानसभा सदस्य निर्वाचन–२०६४ मा स्याङ्जा–२ बाट निर्वाचित हुनु भएको थियो  । विषम् परिस्थितिमा निर्वाचन जितेका श्रेष्ठलाई पार्टीले भौतिक योजनामन्त्रीको जिम्मेवारी दिएको थियो ।

‎वरिष्ठ नेता श्रेष्ठ दोस्रो संविधानसभा सदस्य निर्वाचन–२०७० मा समानुपातिकतर्फ संविधानसभा सदस्य हुनुभयो । उहाँ  २०७२ उपप्रधान तथा शिक्षामन्त्री हुनु भएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.