बुटवल । विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास गर्नुका साथै लोकतान्त्रिक मूल्य, मान्यता तथा निर्वाचन प्रक्रियाबारे प्रत्यक्ष अनुभव प्रदान गर्ने उद्देश्यले ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुल, बुटवल–११, नहरपुरमा “नमुना निर्वाचन अभ्यास कार्यक्रम–२०८३ गरिएको छ ।
विद्यालयमा अध्ययनरत कक्षा ३ देखि १० सम्मका ७ सय भन्दा बढी विद्यार्थीमध्ये ५ सय ५० जना विद्यार्थीहरूले उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागिता जनाएका थिए । विद्यालयको स्कुल क्याप्टेन तथा स्कुल भाइस क्याप्टेन पदका लागि कुल १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।
निर्वाचन कार्यक्रम विद्यालयका प्राचार्य तथा मतदान अधिकृत शंकर भण्डारीको नेतृत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा सहायक मतदान अधिकृत भीम बस्नेत, निर्वाचन मण्डल सदस्यहरू रमेश घिमिरे, हरि भट्टराई, घनश्याम पन्थी र निर्मल गैरे लगायतको प्रत्यक्ष निगरानीमा मतदान तथा मतगणना प्रक्रिया सम्पन्न भएको हो ।
कार्यक्रमलाई व्यवस्थित, मर्यादित तथा प्रभावकारी बनाउन विद्यार्थीहरूलाई विभिन्न जिम्मेवारी प्रदान गरिएको थियो । मतगणना संयोजक जेनिशा थापा, उपसंयोजक सन्ध्या कुँवर, सुरक्षा संयोजक दीक्षा तिवारी लगायतका विद्यार्थीहरूले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै निर्वाचन सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको निर्णायक मण्डलका सदस्य रमेश घिमिरेले बताउनुभयो ।
निर्वाचनको अन्तिम परिणामअनुसार ३३२ मत प्राप्त गरी कक्षा ९, लोटस हाउस की लेज्जिना थापा (मिलाएको हात चुनाव चिह्न) स्कुल क्याप्टेन पदमा निर्वाचित हुनुभयो । त्यसैगरी ३०९ मत प्राप्त गरी कक्षा ९, रोज हाउस का सार्थक न्यौपाने (विद्यालय चिह्न चुनाव चिह्न) स्कुल भाइस क्याप्टेन पदमा निर्वाचित हुनुभयो ।
विद्यालयका अनुसार निर्वाचन सञ्चालनका लागि आवश्यक आर्थिक व्यवस्थापन विद्यालयले गरेको थियो भने सम्पूर्ण निर्वाचन प्रक्रिया विद्यार्थीहरूको सक्रिय स्वयंसेवी सहभागितामार्फत सम्पन्न गरिएको होे ।
कार्यक्रमपछि विद्यालयका प्राचार्य तथा मतदान अधिकृत शंकर भण्डारीले निर्वाचनलाई सफल बनाउन योगदान पु¥याउने सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्नु हुँदै निर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्नु भयो ।
विद्यालयले आयोजना गरेको यस नमुना निर्वाचन अभ्यास कार्यक्रमले विद्यार्थीहरूलाई लोकतान्त्रिक निर्वाचन प्रणालीलाई नजिकबाट बुझ्ने, सहभागितामूलक नेतृत्वको अभ्यास गर्ने तथा जिम्मेवार नागरिक बन्ने दिशामा महत्वपूर्ण अवसर प्रदान गरेको विद्यालयको ठहर छ ।