प्युठान। प्युठान–भालुवाङ सडकखण्ड अन्तर्गत गर्जेनीमा खसेको पहिरो पन्छाउन पाँच दिन लागेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर विकले पहिरो पन्छाएपछि यातायातका साधनहरु चल्न थालेको बताए । आइतबार साँझ नै सडक खुलाइए पनि रातिमा यात्रा गर्दा जोखिम हुनसक्ने भएकाले सोमबार बिहानबाट मात्रै यातायातका साधनहरु चल्न दिइएको उनले बताए ।
दाङको भालुवाङ–प्युठान सडकखण्ड फराकिलो बनाउने क्रममा भित्ता काट्दा जमिन थर्किएर कमजोर बनेको र ठूलो पहिरो झरेको अनुमान छ । सडकदेखि करिब ५० मिटर माथिबाट खसेको पहिरोले १५० मिटर सडक क्षेत्र ढाकेको थियो । सडकको माथि चट्टानी भिर र तलतिर ठूलो माडी नदी भएकाले पैदल हिँड्न पनि यात्रुलाई सकस भएको थियो ।
गत बुधबार राति करिब १० बजे गर्जेनीमा खसेको पहिरोले बाटो अवरुद्ध हुँदा भालुवाङ–प्युठान र रोल्पा आउ–जाउ गर्ने यात्रुहरुले देवीस्थान–घोराही सडक ९४८ किलोमिटर० प्रयोग गर्न बाध्य भएका थिए ।
गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजना घाइते
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर नजिक गुडिरहेको जिपमाथि ढुंगा खसेर लाग्दा तीनजना घाइते भएका छन् ।
बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ च २८४९ नम्बरको जिपमाथि तिनाउ गाउँपालिका–३ मा ढुंगा खस्दा चालकसहित ३ जना घाइते भएका हुन् । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार घाइते तीनैजनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।