Nepali News Portal

कानुन निर्माण सहजीकरणमा स्थानीय तहसंग सहकार्य

गुल्मी । लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा प्रदेश सभा र स्थानीय तहबीच कानुन निर्माणसम्बन्धी सहकार्य सम्बन्धि अन्तरकृया भएको छ । स्थानीय सभाको कार्यलाई थप प्रभावकारी, सुदृढ र परिणाममुखी बनाउने उद्देश्यले प्रदेश सभा सचिवालयले सहकार्य कार्यक्रम संचालन गरेको छ।
कार्यक्रमको शुभारम्भ गर्दै सभामुख तुलाराम घर्तीमगरले प्रदेश र स्थानीय तहबीच समन्वय, सहकार्य तथा अनुभव आदानप्रदानलाई सशक्त बनाउँदै जनमुखी, व्यवहारिक र प्रभावकारी कानुन निर्माणमा जोड दिनुभयो।
कार्यक्रममा उपसभामुख मेनुका खाँड केसी, सभापति यमबहादुर नेपाली सार्की, जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्री तथा उपप्रमुख तेजिन्द्र सलामी मगरले आ–आफ्ना महत्वपूर्ण धारणा व्यक्त गर्नुभएको थियो।
प्रदेश सभा सचिव दुर्लभ कुमार पुन र उपसचिव लोकमणि पाण्डेले सभा सञ्चालन प्रक्रिया, कानुन निर्माणका चरणहरू तथा व्यवहारिक अभ्याससम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै सहभागीहरूलाई उपयोगी र व्यावहारिक जानकारी प्रदान गर्नुभयो।
धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल, उपाध्यक्ष सीता गिरी, जनप्रतिनिधिहरू, सभा सदस्यहरू तथा राष्ट्रसेवक कर्मचारीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप सफल, प्रभावकारी र उपलब्धिमूलक बनाएको थियो।
यस कार्यक्रमले प्रदेश सभा र स्थानीय तहबीच कानुन निर्माणसम्बन्धी सहकार्य, समन्वय र संस्थागत सम्बन्धलाई अझ मजबुत बनाउँदै सुशासन, प्रभावकारी नीति निर्माण र जनउत्तरदायी शासन प्रणाली विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.