Nepali News Portal

गर्भपतन प्रकरण : बुटवलका दुई चिकित्सक नियन्त्रणमा

बुटवल । गर्भपतनका क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको घटनामा जोडिएका बुटवलका दुई चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ ।
खत्री नर्सिङ होमका सञ्चालक समेत रहेका डा. डीबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतिष रुपाखेतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार ती चिकित्सकहरुलाई घटनाबारे अनुसन्धानमा सघाउन प्रहरी कार्यालय बोलाईएको थियो ।
डा. खत्री र रुपाखेती भने मंगलबार बेलुका अबेर आफैं प्रहरी कार्यालय आएपछि नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतकका श्रीमान प्रकाश पाण्डेले गिताको मृत्युमा आर्थिक लाभको उद्देश्य राखेर चिकित्सकले गम्भीर लापरवाही गरेको आरोप लगाई डा. खत्री र रुपाखेतीसहित पाँचजना विरुद्ध किटानी जाहेरी दिनु भएको थियो ।
यस अघि जोनल फार्मेसीका सन्ध्या बस्नेत र निलम घर्ती मगर तथा इन्दुलेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेलाई पक्राउ गरि अनुसन्धान भईरहेको छ । तिलोत्तमा नगरपालिका -३ सुमेरु पथ निवासी पाल्पाको बगनासकाली गाउँपालिका २ ख्याहाकी २९ वर्षीया गीता पाण्डे चैत २७ गते खत्री नर्सिङ होममा करिब १२ हप्ताको गर्भ जाँचका लागि आउनु भएको थियो । मृतक गीताको पहिलो बच्चा (छोरा) ५ बर्षका छ्न ।
त्यहाँ नर्सिङ होमका सञ्चालक डा. डिबी खत्रीले गर्भ असामान्य छ भनी थप उपचारका लागि वैशाख ४ गते बोलाएको श्रीमान प्रकाश पाण्डेको किटानी जाहेरीमा उल्लेख छ । पाण्डे वैशाख ५ गते श्रीमान् प्रकाश सहित नर्सिङ होम आउनु भएको थियो । तर सो नर्सिङ होमले गीतालाई लोकेसन म्याप दिएर बुटवल अस्पताल लाइनको जोनल फार्मेसी क्लिनिकमा पठाएको थियो ।
त्यहाँ फार्मेसीले गर्भपतनको १६ हजार शुल्क लाग्छ भन्दै २ हजार एड्भान्स लिएर दुईथरि औषधी दिएर अर्को दिन आउन भनेको थियो । जोनलबाट फेरि इन्दु लेखा क्लिनिकमा पुर्‍याई गर्भपतन गराउने क्रममा उनको मृत्यु भएको थियो । ईन्दु लेखा क्लिनिकमा डा. सतिष रुपाखेतीले गीताको जाँच गरेको मृतकका पति प्रकाशले बताउनु भएको छ ।
प्रकाशले गर्भपतन गराइएको भ्रुण आफूले नदेखेको बताउनु भयो । उपचारकै क्रममा श्रीमती बेहोस् भइसकेपछि आफूलाई कुनै जानकारी नदिई लुम्बिनी सिटी अस्पतालको इमर्जेन्सी कक्षमा लैजाँदा डाक्टरले मृत घोषित गरेको उहाँको भनाई छ ।
रक्त सञ्चार सेवा केन्द्र भैरहवाकी जागिरे समेत रहेकी गीतालाई कुनै दीर्घ रोग नभएको र स्वस्थ रहेको पति प्रकाशको भनाइ छ । क्लिनिकमा पैसा कमाउने उद्देश्य राखेर उपचारमा गम्भीर लापरबाही भएको बताउदै उहाँले गीताको न्याय र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आर्थिक लाभको जालोमा जोडिएर गरिएका यस्ता घटनाको निष्पक्ष छानबिन अनि कारबाही गर्न माग गर्नु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.