Nepali News Portal

दलितको अधिकार सम्बन्धी विधेयक सर्वसम्मतले पारित

राप्ती उपत्यका देउखुरी (दाङ) । लुम्बिनी प्रदेशसभाले दलितको अधिकार सम्बन्धी विधेयक सर्वसम्मतले पारित गरेको छ । सातौं अधिवेशनको मंगलबारको १४ औं बैठकमा सभामुख तुलाराम घर्तीमगरले उक्त विधेयक निर्णयार्थ पेश गर्नु भएको थियो ।
ध्वनिमतका आधारमा सभामुख घर्ती मगरले उक्त विधेयक सर्वसम्मत पारित भएको घोषणा गर्नु भयो। सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा पेश गर्नु भएको थियो ।
बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि समितिको प्रतिवेदन पेश गर्नु भएको छ । यस्तै भौतिक पूर्वाधार तथा विकास समितिका सभापति रामजीप्रसाद घिमिरेले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्नु भयो ।अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने तय भएको छ।
दलित अधिकार सम्बन्धि विधेयक पारित भएपछी सभामुख तुलाराम घर्ती मगरले सात लाख दलित समुदायको सम्मान भएको बताउनु भएको छ । “यो विधेयक पारित भएको छ । विधेयक सर्वसम्मत पारित हुनु लुम्बिनी प्रदेशमा बसाेवास गर्नुहुने करिब सात लाख दलित श्रमिक जनताकाे सम्मान हाे ।” उहाँले भन्नु भयो ।
यो विधेयक तयार गर्न र अगुवाईको समेत महत्त्वपूर्ण भुमिका खेल्नु हुने सामाजिक बिकास समितीका सभापति यम बहादुर नेपाली सार्कीले एतिहासिक उपलब्धि भएको बताउनु भयो । पछाडि पारिएको समुदायको हकअधिकार स्थापित गर्न यो ऎन कोशेेढुङ्गा साबित हुने उहाँको भनाई छ ।

You might also like
Leave A Reply

Your email address will not be published.