बुटवल । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले संसद् विघटनदेखि पुनः निर्वाचनसम्मको प्रक्रिया योजनाबद्ध रूपमा अघि बढाइएको दाबी गर्नु भएको छ ।
चैत ५ र ६ गते बुटवलमा भएको केन्द्री कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिले आएको जनमत अमेरिकी डिजाइन र योजनामा आएको आरोप लगाउनु भयो । अमेरिकाले चाहे अनुसार देशमा कठपुतली सरकार निर्माणको आधार तयार भएको उहाँको भनाईछ । उहाँले वर्तमान राजनीतिक अवस्थालाई गम्भीर मोडमा पुगेको बताउनु भयो । “आम निर्वाचन नेपालको आवश्यकता, संविधानको मर्म र जनताको चाहनाअनुसार थिएन ।” उहाँले भन्नुभयो – अमेरिकी रणनीतिअनुसार चुनाव भयो , परिणाम पनि तस्तै आयो , यो जनमत होईन ।”
महामन्त्री सिंहले नेपालमा अमेरिकी प्रभाव विस्तार गर्ने प्रयास तीव्र भएको दाबी गर्दै केही राजनीतिक दलहरू त्यसप्रति नरम देखिएको टिप्पणी गर्नु भयो । एमसीसीजस्ता परियोजनामार्फत नेपालमा रणनीतिक प्रभाव बढाउने प्रयास भइरहेको उहाँको भनाई छ । त्यसले राष्ट्रिय स्वाधीनता र दीर्घकालीन हितमा नकारात्मक असर पार्ने उहाँले बताउनु भयो ।
चैत २३ र २४ गते भएका हिंसात्मक घटनाबारे सरकारले गठन गरेको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नगरिएकोप्रति आपत्ति जनाउदै आन्दोलनका क्रममा सर्वसाधारणमाथि गोली प्रहार, आगजनी र तोडफोडजस्ता घटनालाई गम्भीर अपराधको संज्ञा दिँदै दोषीमाथि निष्पक्ष र कडा कारबाही गर्न माग गर्नु भयो ।