Nepali News Portal

संस्थापन बिनै नेपाली कांग्रेसको विशेष महाधिवेशन

काठमाडौँ । संस्थापन समूहको असहयोगका बाबजुद बहुमत महाधिवेशन प्रतिनिधिको समर्थनमा नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्‍घाटन सत्र सम्पन्न भएको छ। आइतबार राजधानीको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन भएको हो ।
विशेष महाधिवेशनको पहिलो दिन कुल २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा कायम रहेका कुल ४ हजार ७ सय ४३ प्रतिनिधिमध्ये पहिलो दिन करिब ५६ प्रतिशत प्रतिनिधिहरूले नाम दर्ता गराएका हुन् । बहुमत सङ्ख्या पहिलो दिनमै दर्ता भएपछि आयोजक पक्ष उत्साहित देखिएको छ । विशेष महाधिवेशन सचिवालयका युवराज पाण्डेद्वारा आइतबार राति जारी प्रेस विज्ञप्ति अनुसार प्रदेशगत र संगठनगत रूपमा छुट्टाछुट्टै दर्ता स्टलहरूको व्यवस्था गरिएको थियो । प्राप्त तथ्याङ्क अनुसार मधेस प्रदेशबाट सबैभन्दा बढी ४ सय ४६ जना प्रतिनिधिले नाम दर्ता गराएका छन् । त्यसैगरी बागमती प्रदेशबाट ४ सय ३२ र कोशी प्रदेशबाट ४ सय २५ जना प्रतिनिधिको सहभागिता रहेको छ ।
लुम्बिनी प्रदेशबाट ३ सय ९८ जना प्रतिनिधि सहभागी हुँदा गण्डकी प्रदेशबाट २ सय ९६ जनाले नाम दर्ता गराएका छन् । भौगोलिक रूपमा टाढा रहेका सुदूरपश्चिम प्रदेशबाट १ सय ५८ र कर्णाली प्रदेशबाट १ सय ३४ जना प्रतिनिधि काठमाडौँ आइपुगेका छन् । यसैगरी, काठमाडौँ उपत्यकाबाट १ सय ७८ जना र पार्टीका विभिन्न भातृ, शुभेच्छुक एवं विदेशस्थित जनसम्पर्क समितिहरूबाट १ सय ९५ जना प्रतिनिधिले आफ्नो उपस्थिति दर्ता गराएका छन् ।
उद्घाटन समारोहमा नेताहरुको अब कांग्रेसको नीति र नेता बदल्ने घोषणा गरेका छन् ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस लास र दासहरूको पार्टी नभएको दाबी गरेका छन् । आइतबार काठमाडौँमा सुरु भएको पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई विभाजन नलगी देशको नेतृत्व गर्ने गरी अघि बढ्ने बताएका छन् । विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई टुक्र्याउने प्रयास नभई सिङ्गो पार्टीको नेतृत्व गर्ने उद्देश्यसहित आफूहरू अघि बढिरहेको बताए ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलि (सोमबार) बिहान ८ बजेबाट सुरु हुने भएको छ ।
विशेष महाधिवेशन पक्षधर नेता मनोजमणी आचार्यले बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने बताउनु भयो ।
कांग्रेसविशेष महाधिवेशन को–को भए सहभागी ?
केन्द्रिय समितिले विशेष महाधिवेशनलाई स्वीकार नगरेकाले सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कादेखि अधिकांश पदाधिकारी उपस्थित छैनन् ।
महाधिवेशन स्थलमा पदाधिकारीबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुर सहभागी छन् । त्यस्तै, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी तथा कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाट पनि सहभागी छन् ।
केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, चन्द्र भण्डारी, भरत शाह, बहादुरसिंह लामा, प्रतिमा गौतम, प्रकाश स्नेही रसाइली, अजयबाबु शिवाकोटी, ध्रुव वाग्ले, अर्जुन जोशी, डा. डिला सङ्ग्रौला पन्त, महेश आचार्य, तारामान गुरुङ, मधु आचार्य, मुक्ता यादव, पुष्पा भुसाल, आङगेलु शेर्पा, अमृत अर्याल, गोपाल दहित, मोहन आचार्य, महेन्द्रकुमार राय चिनकाजी श्रेष्ठ, कर्णबहादुर बुढा, जानकी सिंह, अब्दुल सतार,उदय शमशेर राणा,नानु बास्तोला, योगेन्द्र चौधरी, विनोद चौधरी सहभागी छन् । त्यस्तै, पुराना नेताहरू ओमकारप्रसाद श्रेष्ठ, सुधीर सिवाकोटी पनि सहभागी छन् ।
देउवाको राजनीतिमा चुनौती
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो राजनीतिक जीवनको उत्तरार्द्धमा महासङ्कटमा फसेका छन् । पार्टीको निर्णयलाई चुनौती दिँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधरले विशेष महाधिवेशन बोलाएपछि देउवा सङ्कटमा फसेका हुन् ।
कांग्रेसको इतरपक्षले आइतबार र सोमबार काठमाडौँमा बोलाएको विशेष महाधिवेशनले नीतिगत निर्णय गर्छ कि नयाँ नेतृत्व नै चयन गर्छ भन्ने स्पष्ट खाका बाहिर आइसकेको छैन । यद्यपि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नीति र नेेतृत्व दुबै परिवर्तन हुने संकेत गरिसकेका छन् ।
भदौ २३ र २४ मा जेनजी विद्रोहका बेला आफ्नै निवासमा निर्घात कुटाइ खाएका देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए पनि विशेष महाधिवेशनको माग टार्न सकेनन् । जेनजी विद्रोहपछि उत्पन्न विशेष परिस्थितिको समीक्षा गर्न असोज २८ गते बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति खड्कालाई कार्यवाहक सभापति तोकेर उपचारका लागि सिंगापुर पुगेका उनी स्वदेश फर्किएलगत्तै फेरि सक्रिय भए ।

You might also like
Leave A Reply

Your email address will not be published.