Nepali News Portal

एमाले महाधिवेशन: ओली र पोख्रेलको रोचक प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन भक्तपुरमा शुरु भएको छ ।
आजको खुला सत्र भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी क्षेत्रफलको खुला चौरमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुभयो ।
आजदेखि २९ मंसिरसम्म चल्ने महाधिवेशनमा सहभागी २,२६२ प्रतिनिधिले आगामी पाँच वर्षका लागि पार्टीको केन्द्रीय नेतृत्व चयन गर्नेछन् । महाधिवेशनमा भूगोल, प्रवास र जनसंगठनबाट निर्वाचित १,६७५ जना, केन्द्रीय कमिटी तथा आयोगबाट पदेन ४६१ जना, मनोनीत १०८ जना र एकीकृत समाजवादीबाट आएका १८ जना गरी कुल २,२६२ प्रतिनिधि सहभागी भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो  ।
भदौमा भएको विधान अधिवेशनले दिएको म्याडेडअनुसार यी प्रतिनिधिले २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी चयन गर्नेछन् । विधान महाधिवेशनले पारित गरेको संरचनाअनुसार अध्यक्ष, महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिव रहने व्यवस्था छ । यसअघि रहेको वरिष्ठ उपाध्यक्ष पद विधानबाट हटाइए पनि सोही पद सम्हालिरहेका ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै नेतृत्व चयनको प्रतिस्पर्धा छ ।
वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दुवै १५ सदस्यीय पदाधिकारीका लागि प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिने सम्भावना देखिएको छ । दुवै पक्षले आ–आफ्नो समूह मजबुत बनाउन प्रतिनिधिसँग तीव्र भेटघाट र लबिङ गरिरहेका छन् ।
१० मंसिर ०७८ मा चितवनमा सम्पन्न १०औँ महाधिवेशनपछि पाँच वर्षे कार्यकाल पूरा हुन अझै एक वर्ष बाँकी रहँदै एमालेले नयाँ नेतृत्व चयन गर्न लागेको हो । गत भदौमा सम्पन्न विधान महाधिवेशनले पारित गरेको विधान र नीति कायम राखेर नेतृत्व चयन गर्ने निर्णय केन्द्रीय सचिवालय बैठकले गरिसकेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.