भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई पुनः संविधानको लिकमा फर्काउन विघटित प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य भएको बताउनु भएको छ ।
शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले असंवैधानिक तवरले विघटन गरिएको संसद् ब्युँताएरै छाड्ने दावी गर्नु भयो ।
अहिले तत्कालका लागि अनधिकृत र असंवैधानिक सिफारिसमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेशबाट नयाँ प्रतिनिधिसभा निर्माण गर्ने बाटोमा हामी अगाडि बढ्नुपर्छ। उहांको भनाई थियो । अध्यक्ष ओलीले वर्तमान सरकारले जालझेल र प्रतिशोधको बाटो लिएको आरोप लगाउँदै संविधान र लोकतन्त्रको रक्षाका लागि एमाले निर्णायक शक्तिका रूपमा उभिने बताउनु भयो । आफ्नो सम्बोधनका क्रममा अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा विकसित भएका पछिल्ला घटनाक्रमहरूको समीक्षा समेत गर्नुभयो। भदौ २३ र २४ गतेका हिंसात्मक घटनाहरूलाई स्मरण गर्दै देशलाई गृहयुद्ध र रक्तपातबाट बचाउन आफूले पद त्याग गरेको समेत बताउनु भयो ।
वर्तमान सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनलाई ओलीले नाटक को संज्ञा दिनु भएको छ। सरकारले चुनावको मिति तोके पनि त्यसको कुनै तयारी नगरेको र देशमा भय तथा त्रासको वातावरण सिर्जना गरेको उहांको आरोप छ ।
अध्यक्ष ओलीले पछिल्लो समय एमाले र पुराना दलहरूलाई जेनजी विरोधी भन्दै भाष्य निर्माण गर्न खोजिएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। एमालेको ७७ वर्षे इतिहास र बलिदानको चर्चा गर्दै ओलीले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने दृढता व्यक्त गर्नुभयो। महाधिवेशनको सन्दर्भ जोड्दै उनले पार्टीभित्रको एकतालाई एक र एक जोडेर दुई होइन, एघार बन्नेु उपमा दिनुभयो।
