काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालमा वामपन्थी एकता प्रस्तावलाई महत्वका साथ अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नु भएको छ ।
पोखरेल समूहले महाधिवेशनमा एमाले-माओवादी एकता किन विभाजनमा रुपान्तरण भयो भनेर गम्भीर समीक्षा गर्नुपर्ने अवधारणापत्र बुझाएको छ।
उहाँले एमालेको अगुवाईमा वामपन्थी आन्दोलनको एकता र एकीकरणलाई महत्वपूर्ण कार्यभारको रूपमा अघि सार्नुपर्नेमा जोड दिनु भएको छ ।
‘जुन जुन समयमा एकता, एकीकरण र सहकार्य भएको छ, त्यस समयमा आन्दोलनप्रति जनताको सम्मान र समर्थन पनि बढेको छ’ अवधारणापत्रमा भनिएको छ, ‘जुन समयमा फुट, विभाजन र अनावश्यक द्वन्द्व बढेको छ, त्यस बेलामा जनविश्वासमा कमी आउनुका साथै राष्ट्रका लागि योगदान गर्न पनि सकिएको छैन ।’
पोखरेलले पुष्पलाल, मनमोहन, तुलसीलाल, जननेता मदन भण्डारी लगायतका शीर्ष व्यक्तित्वहरूले आ-आफ्नो समयमा वामपन्थी एकता र एकीकरणका लागि महत्वपूर्ण भूमिका खेलेका स्मरण गर्नु भयो ।
विगतमा गरिएको एमाले-माओवादी एकतालाई ‘ऐतिहासिक र महान्’ भनिएको भए पनि व्यवस्थित तयारीबिना अपरिपक्व ढंगले गरिएका कारण त्यसले निरन्तरता पाउन सकेन । त्यसको गम्भीर समीक्षा हुन आवश्यक छ,’ उहाँले भन्नू भएको छ।
एमालेको अगुवाईमा नेपालको वामपन्थी आन्दोलनको एकता र एकीकरणको प्रस्तावलाई महत्वपूर्ण कार्यभारको रूपमा अघि सार्नुपर्नेमा पोखरेल समूहको जोड छ ।
‘हामी यिनै मान्यताका आधारमा सम्पूर्ण वामपन्थी शक्ति तथा व्यक्तिहरूलाई एमालेसँगको एकता प्रक्रियामा सामेल भई एमालेलाई वाम लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्न हार्दिक अपिल गर्दछौं,’ अवधारणापत्रमा भनिएको छ ।
You might also like