काठमाडौँ । आगामी २०३० सम्ममा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या बार्षिक १६ लाखको हाराहारीमा पुग्ने सरकारी अधिकारीहरूले प्रक्षेपण गरेका छन् । पछिल्लो समय पर्यटकहरूको आवागमनमा उल्लेख्य वृद्धि भएसँगै यो प्रक्षेपण गरिएको हो ।
हवाई पूर्वाधारदेखि नेपाल एयरलाइन्ससम्मले गन्तव्य बढाउनसके पर्यटकको सङ्ख्यामा भारी रूपमा वृद्धि हुनेछ । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले अहिले पर्यटक आवागमनको क्रमलाई हेर्दा सन् २०२५ को जुलाइमा मात्रै ७० हजार भन्दा बढी पर्यटक आवागमन भएको जानकारी गराउनु भयो ।
उहाँले सन् २०२४ को जुलाइको आँकडा हेर्दा बढेको बताउनु भयो । यसरी पर्यटक वृद्धि २०२५ मा करिब १२ लाख पर्यटक आवागानको हाराहारीमा पुगिनेछ । नेपाल पर्यटन बोर्डकाअनुसार सन् २०२५ को जुलाइमा मात्रै ७० हजार भन्दा बढी पर्यटक नेपाल आएका छन् ।
जुलाईमा कुल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार १ सय ५२ अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् ।दोस्रो स्थानमा चीनबाट ६ हजार ८ सय ९० जना, तेस्रोमा अमेरिकाबाट ६ हजार ६ सय २६ जना, बङ्गलादेशबाट ४ हजार ४ सय १३ जना र बेलायतबाट ३ हजार ५ सय ४७ जना पर्यटक नेपाल आएका छन् ।