काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय स्वत: निष्क्रिय भएको बताएको छ । पार्टीको केन्द्रीय समितीले भण्डारीलाई सक्रिय राजनीतिमा आउने ढोका बन्द गरेको हो ।
कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव शंकर पोखरेलले विधान अनुसार केन्द्रीय कमिटी बैठकले नै सदस्यता नवीकरणबारे निर्णय लिने भन्दै केन्द्रीय कमिटीले नै भण्डारी राजनीतिमा आउन आवश्यक नठानेकाले सदस्यताको विषयमा प्रवेश गर्नै नपर्ने बताउनु भयो ।
महासचिव पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता नवीकरण गरेको विषय पार्टीलाई जानकारी भएको स्वीकार गर्नु हुँदै भण्डारीले सदस्यता नवीकरण गरेको थाहा भइसकेपछि उपयुक्त समयमा निर्णय गर्ने भनेर पार्टीले सार्वजनिक नगरेको स्पष्ट पार्नु भयो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुल्क तिरेर सदस्य नवीकरण गरेको विषय थाहा भएपछि उपयुक्त समयमा पार्टीले निर्णय गर्नुपर्छ भनेर सार्वजनिक गरेनौँ । नवीकरण गर्नुपर्थ्यो कि पर्दैनथ्यो भन्ने विषयमा स्वाभाविक रूपमा केन्द्रीय समिति बैठकले निर्णय गर्नुपर्थ्यो । यी सबैलाई ध्यानमा राखेर बैठकले उहाँको सदस्यता नवीकरण स्थगित गरेको हो,’ उहाँको भनाई छ । संविधानमा भएको व्यवस्थालाई ध्यानमा राखेर नै पार्टीले निर्णय गरेको उहाँको जिकिर छ ।
प्रथम राष्ट्रपति डा. रामवरण यादव पार्टी राजनीतिमा नफर्किएकाले केही गर्नै परेन । विद्यादेवी सक्रिय राजनीतिमा आउने घोषणा गरेपछि स्वाभाविक रूपमा पार्टीले एउटा थिति बसाल्नुपर्थ्यो । उहाँले पार्टीको नेतृत्व तहमा रहेर वा राष्ट्रपतिको पदमा बसेर गणतन्त्रको रक्षा र संविधानको संरक्षणमा महत्त्वपूर्ण भूमिका खोल्नुभयो । त्यसको उच्च सम्मान गर्दै पार्टीले उहाँलाई पार्टीले गणतन्त्र गौरव विभूषणबाट सम्मान गरेको हो’, पोखरेलले जिकिर थियो । सक्रिय राजनीतिमा आउन चाहनु भएको भण्डारीलाई यो निर्णयले कस्तो प्रभाव पार्ने हो र अबको कदम कस्तो हुन्छ भन्नेमा सबैको चासो छ ।
You might also like