बुटवल । प्रेस सेन्टर नेपालको आयोजना र बुटवल उपममहानगरको सहयोगमा सञ्चालित तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम मंगलबार सम्पन्न भएको छ ।
समापन समरोहमा बोल्दै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष एवं पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले पत्रकारहरुले जनताको पक्षमा लेख्ने आँट गर्नु पर्ने बताउनु भयो । संसारभर नै पश्चगामी शक्तिको उदय हुने परिस्थिति निर्माण हुँदै गइरहेको उल्लेख गर्दै नेता बरालले समाजलाई अगाडी वढाउन पत्रकारहरु सचेत हुनु पर्नेमा जोड दिनुभयो । शाषकहरु दलाल विचौलियाको प्रभावमा परेर श्रमजिबि बर्गको रोजिरोटी खोस्न उद्धत रहेको बताउँदै उहाँले श्रमजिबि बर्गको पक्षमा कलम चलाउन आग्रह गर्नु भयो ।
बुटवल उपमहानगर उपप्रमुख सावित्रा देवी अर्यालले बुटवल उपमहानगरपालिकाले पूर्वाग्रहरहित ढंगले काम गरेको बताउनु भयो । विगतमा जस्तो समाचार लेखेकै भरमा जेल बस्नु पर्ने अवस्था नरहेको बताउँदै उहाँले नगरपालिकाले सकारात्मक कामको प्रचार प्रसार र कमजोरीको खबरदारी गर्न आग्रह गर्नुभयो । उपप्रमुख अर्यालले राजाबादी समुहले विभिन्न क्रियाकलाप गर्न थालेकाले त्यसको विरुद्धमा गणतन्त्रका पक्षधर एकजुट हुन जरुरी रहेको बताउनु भयो।
प्रेस सेन्टर नेपालका पूर्व केन्द्रीय उपमहासचिव यानेन्द्र जिसिले सिकाइका लागि कहिल्यै पछि हट्न नहुने बताउदै समयमा हुने तालिमले पत्रकारितालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रमेश पोख्रेल, प्रशिक्षार्थीहरु निर्मला सुनार र विवेक शर्माले बोल्दै तालिम प्रभावकारी भएको बताउनु भयो । उहाँहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो।