Nepali News Portal

एमालेसँगको सत्ता गठबन्धन तत्काल तोड्नुपर्छ : कोईराला

नवलपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा एमालेसँगको सत्ता संयोजन (गठबन्धन) तत्काल तोड्नुपर्ने बताउनुभएको छ ।   नवलपुरको डन्डामा नेपाल थारु सङ्घ नवलपुरको प्रथम अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले सो कुरा बताउनु भएको  हो ।

वर्तमान संयोजनले मुलुकलाई ‘एमालेकरण’ तर्फ धकेल्दै लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई गम्भीर क्षति पुर्‍याइरहेको आरोप लगाउनु भयो । डा.कोइरालाले संविधान संशोधनजस्तो गम्भीर विषयमा कांग्रेस–एमाले मात्र मिलेर अघि बढ्नु लोकतान्त्रिक प्रक्रिया नभएको स्पष्ट पार्नु भयो ।

उहाँले माओवादी केन्द्र, मधेसवादी दलहरू, राप्रपा, रास्वपा लगायत सबै दलहरूको सहमति विना संविधानमा परिवर्तन गर्नु लोकतन्त्रको आत्मविपरीत हुने बताउनु भयो  । सरकारले संसदलाई छल्दै सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याउने तयारी गरेको भन्दै उहाले गम्भीर चिन्ता व्यक्त गर्नु भयो। सरोकारवालासँग छलफल विना विधेयक ल्याउनु अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा भएको उहाको भनाइ थियो।

बारम्बार अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति असंवैधानिक र अधिनायकवादी सोचको उपज भएको उहाले बताउनु भयो। साथै केन्द्र सरकारले प्रदेश सरकारहरूमा अनावश्यक हस्तक्षेप गरेको आरोप लगाउँदै निजामती, शिक्षा र प्रहरीसम्बन्धी कानुनहरू सङ्घीयताको मर्म विपरीत निर्माण भइरहेकामा गम्भीर असन्तोष व्यक्त गर्नु भयो ।

‘सत्ताका लागि जे पनि गर्न तयार, सिद्धान्तविहीन गठबन्धन कांग्रेसका लागि दीर्घकालीन रूपमा घातक छ,’ भन्दै उनले पार्टी नेतृत्वलाई जनतामुखी नीति, पारदर्शिता र राजनीतिक शुद्धताको बाटो समात्न सुझाव दिनु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.