उप निर्वाचन: जनप्रतिनिधि चुन्न मतदान जारी
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान जारी
बुटवल । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार बिहान देखि मतदान भइरहेको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान जारी छ ।
बिहान ७ बजेदेखि शुरू भएको मतदान साँझ ५ बजेसम्म जारी रहेनछ । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।
रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष लागि मतदान सुरु भएको छ । यहाँ नेपाल कांग्रस र एमालेबाट केशकुमारी तुलाचन र माओवादीबाट नरपुरा बुढा उम्मेदवार रहेका छन्।
गाउँपालिकाको १४ वटा वडामा २२ मतदान केन्द्र रहेको छ। जसमा ५ हजार ६ सय ७१ जना पुरुष र ५ हजार ५ सय ९ जना महिला गरी जम्मा ११ हजार एक सय ८० जनाले मतदान गर्ने निर्वाचन सहायक अधिकृत ईश्वरीप्रसाद सुवेदीले जानकारी दिनुभयो।
जहाँ मतदान भईरहेको छ:
जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि मतदान भइरहेको छ ।
ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३, झापाको कन्काइ नगरपालिका–६, तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सुनसरीको गढी गाउँपलिका–६, ओखलढुंगाको मोलुङ गाउँपालिका–५, उदयपुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ तथा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४ को वडाध्यक्ष पदमा पनि उपनिर्वाचन जारी छ ।
त्यस्तै, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६ र गढीमाई नगरपालिका–८ को वडाध्यक्ष पदका लागि पनि मतदान जारी छ ।
नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौंडा नगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ र कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष पदमा उपनिर्वाचन भइरहेको छ ।
दैलेखको दुल्लु नगरपालिका वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४, जाजरकोट कुशे गाउँपालिका वडा नं ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, रुकुम (पश्चिम) को सानीभेरी गाउँपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का वडाध्यक्ष पदका लागि मतदान जारी छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ ।