सरकार जनचाहना बिपरित गयो, सडकबाट खबरदारी हुन्छ: प्रचण्ड
नेपालगन्ज । पुर्ब प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार जनचाहना बिपरित चलेको आरोप लगाउनु भएको छ ।
जनताको चाहना सुशासन, सामाजिक न्याय र समृद्धि भएको तर सरकारले यो एजेन्डालाई भुलेर ब्यक्तिगत स्वार्थमा लागेको बताउनुभयो ।
प्रेस सेन्टर नेपाल बाकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले भन्नुभयो- ‘संविधानको भावनाविपरीत बनेको सरकारले निरन्तर जनताका इच्छा विपरीत काम गरिरहेको छ । यसको विरुद्धमा आवश्यक परे हामी सडकबाट खबरदारी गर्छौं ।”
उहाँले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने बताउनु भयो । ‘नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो, आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति नै नयाँ शक्ति हो, त्यो एजेण्डा माओवादीसँग मात्रै छ ।’ अध्यक्ष प्रचण्डको भनाइ छ ।
‘हामीले एजेण्डा उठाएनौं मात्रै, त्यसलाई आन्दोलनबाट स्थापित गरेर संविधानमा लिपिबद्ध गरेका छौं,’ उहाँले भन्नुभयो, ‘संविधान कार्यान्वयन गरेर हामीले उठाएका राजनीतिक एजेण्डामार्फत जनताको जीवन बदल्न पनि फेरि माओवादी नै चाहिन्छ ।’
उहाँले समाजवादी मोर्चालाई अझ व्यवस्थित बनाउँदै लैजाने र टुटफुट भएका माओवादी घटकहरुसँग एकता गरि नयाँ शक्तिको रुपमा जनतामा जाने बताउनु भयो । अब सरकारमा जाने चिन्ता नलिने , पार्टी निर्माण कार्यमा लाग्ने र सोही अनुसार अघि बढन कार्यकर्तालाई निर्देशन दिनु भयो ।
पार्टीभित्र एउटा सिस्टम बसालेर अर्को भूमिकामा जाने सोच बनाएको पनि अध्यक्ष प्रचण्डले खुलासा गर्नुभयो । ‘पार्टीको आवश्यकता, साथीहरुको जोडबल र जनभावनाले गर्दा ३५/३६ वर्षदेखि मैले नेतृत्व गरिरहेको छु, अब सिस्टम बनाएर अर्को भूमिकामा जाने सोचमा छु,’ उहाँको भनाई थियो ।
यसैबीच माओवादी केन्द्र जिल्ला समन्वय समिति बाँकेले आयोजना गरेको पार्टी प्रशिक्षण र कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीलाई नयाँ गतिमा अघि बढाउन निर्देशन दिए । वैचारिक, सांगठनिक र भावनात्मकरुपमा एकताबद्ध भएर पार्टीलाई अघि बढाउन निर्देशन दिनुहुँदै उहाँले पार्टी विभाजनको हल्ला असत्य सावित भइसकेको बताउनुभयो ।