बुटवल।
बुटवलमा पहिलोपटक मगर साहित्य महोत्सव हुने भएको छ ।मगर समुदायको भाषा, साहित्य र इतिहासको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सव हुने भएको हो ।नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा आगामी मंसिर तेस्रो साता महोत्सव गर्ने गरी तयारी थालिएको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
महोत्सवमा मगर भाषा र साहित्यको प्रवर्द्धनसँग सम्बन्धित कार्यक्रमसहित नेपालका विभिन्न जिल्लामा रहेका मगरहरूको इतिहासको खोजी, विभिन्न क्षेत्रमा विशिष्टता र उत्कृष्टता हासिल गरेका मगर समुदायका व्यक्तिहरूलाई सम्मान लगायतका कार्यक्रम हुने महोत्सवका प्रवक्ता शंकर गाहाले बताए ।
यस्तै महोत्सवमा मातृभाषा कविता प्रतियोगिता अन्तर्गत खाम र काइकेमा लेखिएका कविता प्रतियोगिता, मगर समुदायले प्रयोग गरेका प्राचीन सामग्रीहरूको प्रदर्शन, पुस्तक प्रदर्शनी, भेषभूषा र प्राचीन सामग्रीहरूको प्रदर्शन, मौलिक नृत्यको प्रदर्शनी गरिने गाहाले जानकारी दिए ।यस्तै आदिकवि जितबहादुर सिंजाली मगर र रेखबहादुर सारु साहित्य पुरस्कार वितरण, गोरेबहादुर खपांगी मगर सामाजिक योगदान पुरस्कार वितरण, मगर भाषा, साहित्यबारे विद्वत प्रवचन, विद्वत प्रवचन र विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूसँग संवाद तथा बहस (प्यानल डिस्कसन) लगायतका कार्यक्रम हुने आयोजक संस्थाका यम रानाले बताए ।
महोत्सव सम्पन्न गर्न एक सय एक जनाको मूल आयोेजक समिति गठन गरी तयारी थालिएको मगर महिला संघ रुपन्देही अध्यक्ष निर्मला थापाले बताइन् । करिब २० लाख खर्च अनुमान गरिको महोत्सवका स्वदेशबाट १० लाख र विदेशमा रहेका मगर समुदायबाट १० लाख सहयोग संकलन गरिने थापाले बताइन् ।