लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यलाई ७० मत
यस अघि माओवादी केन्द्र संसदीय दलका नेता जोख बहादुर महराको नेतृत्वको सरकारमा मन्त्री हुनुभएका स्वतन्त्र सदस्य खडग बस्नेतले मुख्यमन्त्री आचार्यलाई समर्थन गर्नुभयो ।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाउनु भएको छ।
मंगलबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ७० जना प्रदेश सभा सदस्यले मत दिनु भयो । प्रदेश सभाको आजको बैठकमा मत बिभाजन पछी सभामुख तुलाराम घर्ती मगरले प्रस्तावको पक्षमा ७० मत र विपक्षमा ११ मत परेको जानकारी गराउनु भयो ।
८७ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले पाएको मत करिब दुई तिहाइ हो । आचार्यले राखेको प्रस्तावको विपक्षमा ११ जनाले मत दिनु भयो । राप्रपाले कुनै पनि पक्षमा मतदान गरेन ।
नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । एमालेकै आन्तरिक किचलो र काङ्ग्रेसको आन्तरिक किचलोका कारण मन्त्रीपरिषदले पुर्णता पाउन सकेको छैन ।
मुख्यमन्त्री आचार्यलाई एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३–३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिनुभयो । यस अघि माओवादी केन्द्र संसदीय दलका नेता जोख बहादुर महराको नेतृत्वको सरकारमा मन्त्री हुनुभएका स्वतन्त्र सदस्य खडग बस्नेतले मुख्यमन्त्री आचार्यलाई समर्थन गर्नुभयो । उहाँ माओवादी केन्द्र कै जोडबलमा मन्त्री हुनुभएको थियो। सभामा प्रस्तावको पक्षमा बिचार राख्नुहुँदै बिगतमा पनि सरकारलाई समर्थन गरेका कारण अहिले पनि मुख्यमन्त्री आचार्यलाई बिश्वासको मत दिने तर्क राख्नु भएको थियो ।
प्रदेश सभामा माओवादी केन्द्रका १०, राप्रपाका ४ तथा एकीकृत समाजवादी र जनमोर्चाका एक एक सांसद प्रतिपक्षमा छन् ।