पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति हुन नदिन आजदेखि अनिश्चितकालसम्म रातिको समयमा सवारी साधन सन्चालनमा रोक लगाइएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । साउन ९ गते बुधबार बेलुका ७ देखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्म सबैखाले सवारी साधन आवतजावत बन्द गरिएको छ । उक्त समयमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन चलाउनुपरेमा स्थानीय प्रशासनसँग अनुमति लिन आग्रह गरिएको छ ।
विगत केही दिनदेखिको अविरल वर्षाका कारण हिउँदे खोला खण्डमा सडक भासिएकाले एकतर्फी रुपमा सवारी साधन संचालनमा छ । डाइभर्सनका लागि सडक डिभिजन कार्यालयबाट मर्मतको कार्य भइरहेको छ ।
सडक अत्यन्तै जोखिमपूर्ण रहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाले आग्रह गरेको छ । अत्यावश्यकीय मालबाहक बाहेकका गाडी नचलाउन आग्रह गरिएको छ । दुई वर्ष अघि पनि हिउँदे खोलामा सडक भासिएको थियो ।