Nepali News Portal

मारबाडी क्रिकेट लिगः भैरहवामा समूह ‘बी’ का खेलहरु सुरु, जनकपुरको विजयी सुरुवात

बुटवल ।

चौथो संस्करणको नेपाल मारबाडी क्रिकेट लिग अन्तर्गत भैरहवामा समूह ‘बी’ का खेलहरु सुरु भएका छन् । नेपाल राष्ट्रिय मारबडी युवा संठगन केन्द्रीय समितिको आयोजनामा मंगलबारबाट भैरहवास्थित सिद्धार्थ रंगशालामा समूह ‘बी’ का खेलहरु सुरु भएका हुन् । उक्त समूह अन्तर्गत बीरगंज ब्लास्टर र शिवम् वारियर्स हेटौँडाबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो । वर्षा रोकिएपछि दोस्रो खेल भने पुरै ओभर खेलाइएको थियो ।

दोस्रो खेलमा जनकपुर रोयलले नेपालगंज वारियर्सलाई ८ विकेटले पाजित गर्दै विजयी सुरुवात गरेको छ । जितका लागि पाएको १ सय ४३ रनको लक्ष्य जनकपुरले निर्धारित २० ओभरको खेलमा १० ओभर २ बल खेल्दै २ विकेटको नोक्सानीमा १ सय ४४ रन बनाउँदै पूरा गर्यो र सहज जित निकाल्यो ।

उसका लागि राहुल नहरले ८६ रनको उत्कृष्ट इनिङ खेले । यस्तै, राहुल बर्माले ३५ रनको योगदान गरे । बलिङमा नेपालगंजका अभी अग्रवाल र प्रभात अग्रवालले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालगंजले निर्धारित खेलमा ८ विकेटको नोक्सानीमा १ सय ४२ रनको योगफल बनाएको थियो । उसका लागि कृष्ण लखोटियाले ५४, निखिल अग्रवालले ३१, गौरव डागाले १५ र सिनु गोयलले ११ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा जनकपुरका आकाश मोहन्काले २ तथा अनमोल चौधरी, राहुल अग्रवाल, आशिष सराफ र सुमित बर्माले समान १–१ विकेट लिए । खेलमा राहुल नहर प्लेयर अफ द म्याच भए ।

यसअघि भैरहवामा सुरु समूह ‘बी’ को खेल उद्घाटनका अवसरमा बोल्दै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई, संगठनका केन्द्रीय अध्यक्ष मनोजकुमार अग्रवाल, नेपाल क्रिकेट संघका पूर्वकेन्द्रीय कार्यबाहक सचिव प्रशान्त विक्रम मल्ल, लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङ ता मारबाडी सेवा समितिका अगुवा, उद्योगी व्यवसायी लगायतले बोल्दै यस्ता खेलकुदले खेलाडी उत्पादनमा टेवा पुग्ने जनाए ।

उनीरुले उद्योग ब्यावसायमा तल्लीन मारबाडी समुदाय र युवाहरुले पछिल्लो समय खेलकुदको विकासका लागि खेल मार्फत् पनि टेवा पुर्याउँदै आएको भन्दै प्रशंसा गरे । प्रतियोगितामा १४ टीम सहभागी छन् । यसमध्ये समूह ‘ए’ र ‘सी’ का खेलहरु विराटनगरमा भइरहेका छन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भने कीर्तिपुर क्रिकेट मैदान काठमाडौंमा हुनेछन् ।

You might also like
Leave A Reply

Your email address will not be published.