Nepali News Portal

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीका दुई सिट,कस्लाई पर्ने हो  छैन सुनिस्चित

बुटवल । राष्ट्रिय सभा सदस्य पदमा लुम्बिनी प्रदेश अन्तर्गत दुई सिट नेपाली कांग्रेसकी अनिता देवकोटा र एमालेका कुमार दशौदी ६ वर्षे कार्यकाल पूरा गरी बिदा हुँदैछन् ।  रिक्त पदमा निर्वाचन हुँदैछ ।
ती दुई सिटमध्ये सत्ता गठबन्धनभित्र नेपाली कांग्रेसले आफ्नोतर्फ रिक्त हुने सिटमा  दाबी गरेको छ । गठबन्धनभित्र रहेका दलहरुमा जुन पार्टीको सिट रिक्त हुँदैछ, त्यहाँ सोही पार्टीले उम्मेदवारी दिने अनौपचारिक सहमति भएकाले लुम्बिनीको एउटा सिटमा कांग्रेसले उम्मेदवारी दिने पक्काजस्तै भइसकेको  नेपाली कांग्रेसका प्रदेश अध्यक्षअमरसिंह पुनले बताए ।
” सत्ता गठबन्धनभित्र जुन दलको सिट खाली हुँदैछ, उसैलाई दिने सहमति भएकाले लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा रिक्त हुन लागेको महिलातर्फको एउटा सिट सुरक्षित छ । ” उनको भनाइ छ ।
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसमा राष्ट्रिय सभा सदस्यमा उम्मेदवारीका लागि जिल्लाबाट सिफारिस भएका नामको सूची निकै लामो छ । जिल्लाबाट आएका १२१ जना र प्रदेशबाट तीन जना थप गरी १२४ जनाको नाम केन्द्रमा पठाइएको छ ।
नेकपा माओवादी केन्द्रको प्रदेश समितिबाट शिफारिस गरि उम्मेदवारको नाम केन्द्रमा पठाइएको छ । लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले आफ्नो पार्टीले लुम्बिनीबाट राष्ट्रिय सभा सदस्यमा दाबी गरेको बताए ।
यस्तै, एकीकृत समाजवादी पार्टीले पनि एक सिटमा दाबी गरेको छ । एमालेका तर्फबाट रिक्त हुने एक सिटमा आफ्नो दाबी रहने नेकपा एकीकृत समाजवादीका नेताहरु बताउँछन् ।
लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेयका अनुसार राष्ट्रिय सभा सदस्यमा रिक्त हुने २० सिटमध्ये आफ्नो पार्टीले पाँच सिट पाउने मोटामोटी सहमति भइसकेको भन्दै उक्त पाँच सिटमध्ये एउटा सिट लुम्बिनीबाट रहने बताए । त्यसका लागि प्रदेशका नेताहरूले केन्द्रीय अध्यक्षलाई भेटेर ध्यानाकर्षण गराएको उनको भनाइ छ ।
लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका साना दलहरूले पनि राष्ट्रिय सभा सदस्यमा भागबण्डाको आकांक्षा राखेका छन् । जसपाले पनि राष्ट्रिय सभाका लागि एक सिटमा दाबी गर्ने तयारी गरेको छ । दुई सिटमध्ये एउटा सिट नेपाली कांग्रेसले पाउने भए पनि एमालेबाट खाली हुने सिटमा सत्ता गठबन्धनबाट आफूहरुले पनि दाबी गर्ने जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए ।
यस्तै सत्तामा रहेको लोसपाले पनि एक सिटमा दाबी गर्ने जनाएको छ । सो पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष पाण्डेयले केन्द्रमा भागबण्डा गर्दा आफ्नो पार्टीले मधेस प्रदेश या लुम्बिनी प्रदेशमा एक सिट पाउने विषयमा छलफल चलिरहेको बताए ।
यता राष्ट्रिय जनमत पार्टीका केन्द्रीय सचिव भूपेन्द्र यादवले आफूहरूले सरकारलाई समर्थन गरे पनि सरकारी पक्षबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका सम्बन्धमा कुनै छलफल नभएको बताए । उनले पार्टीले आफ्नो मत रहेको लुम्बिनी प्रदेशमा छलफल लागि ढोका खुला राखिएको बताउँदै एमालेसँग पनि छलफल हुन सक्ने प्रस्ट पारे ।
यस्तै नेकपा एमालेले दुवै सिटमा उम्मेदवारी दिने तयारी गरेको छ । केन्द्रमा सिफारिस गर्दा महिला ३ जना, पुरुष ३ जना गरी ६ जनाको नाम पठाउने र त्यसमध्येबाट २ जनालाई केन्द्रले उम्मेदवार बनाउने निर्णय गर्ने जनाइएको छ । एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोज प्रसाद श्रेष्ठले प्रदेशमा कमिटी बैठक बसेर सिफारिस गर्ने बताए ।

You might also like
Leave A Reply

Your email address will not be published.