Nepali News Portal

छन्दका अन्तर्राष्ट्रिय अभियन्ता पाैडेल पुरस्कृत

बुटवल । रूपन्देहीकाे सियारी गाउँपालिका लक्ष्मणगञ्जमा अवस्थित दुर्गा शैक्षिक गृहका प्राचार्य तथा  यज्ञाेदय दुधनाथ थारु बहुमुखी क्याम्पसका प्राध्यापकका रूपमा कार्यरत अङ्ग्रेजी र नेपाली साहित्यका विद्वान् युवाकवि कविराज पौडेल सम्मानित भएका छन । छन्द तरङ्गको पाँचौ बार्शिकोत्सवको अवसरमा कवि पौडेललाई नगद  बीस  हजार सहित  छन्दसाधना युवा प्रतिभा राष्ट्रिय पुरस्कार प्रदान गरिएको हो । प्राडा रामप्रसाद ज्ञवालीकाे अध्यक्षतामा भएको समारोहमा संघीय संसदका सभामुख देवराज घिमिरेले पौडेललाई उक्त पुरस्कार गरे ।

माेफसलमा रही रूपन्देहीलाई कार्यक्षेत्र बनाएका नेपाली छन्दाेबद्ध कविताकाे क्षेत्रका एक अग्रणी व्यक्तित्व छन्दाेबद्ध कविताकाे अविश्रान्त साधक पौडेल वि.सं. २०४० भदौ १२ गते रापाकोट, स्याङ्जामा जन्मिएका हुन ।  मूलतः २०६० को दशकबाट सिर्जना यात्रामा सक्रिय र रूपन्देहीमा ‘छन्दवादी समाज नेपाल’जस्तो संस्था नै स्थापना गरेर झन्डै दुई दशकदेखि छन्दकविताको साधनामा समर्पित रही ‘चित्रविचित्र’ (२०६२), घाइते राष्ट्र (२०७०) जस्ता छन्दोबद्ध कवितासङ्ग्रह र रूपसी (२०६३), कैदी (२०६५) र छायाछवि (२०६९) जस्ता छन्दोवद्ध खण्डकाव्यका साथै सयौँ फुटकर कविताका माध्यमबाट सशक्त सिर्जना क्षमता, युगीन यथार्थमूलक वैचारिक सम्प्रेषण, जीवन्त वाचन कला, छन्दसम्बद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्गठन निर्माण, पिङ्गल छन्द र अङ्ग्रेजी छन्दविधानसम्बन्धी प्राज्ञिक अनुसन्धान र विभिन्न प्रशिक्षणका माध्यमबाट नयाँ पुस्तालाई छन्दकविताप्रति आकर्षण प्रदान गर्ने कार्यमा अतुलनीय योगदान दिएबापत युवाकवि कविराज पौडेललाई छन्दसाधना युवा प्रतिभा राष्ट्रिय पुरस्कार प्रदान गरिएको हो ।

कवि पाैडेल अङ्ग्रेजी साहित्य र नेपाली साहित्यका विशिष्ट विद्वानका रूपमा परिचित छन् ।यिनले नेपाली र अङ्ग्रेजी भाषामा समान रूपले कलम चलाउँदै आएका छन्।

पौडेलले पूर्वीय जगत्को पिङ्गल छन्द र पाश्चात्य जगत्को छन्दविधानका समानता र भिन्नताहरूको गहन अध्ययन र अनुसन्धान गरी आधिकारिक रूपमा सामग्रीहरूको प्रकाशन र प्रसारण गर्ने कार्यमा समेत आफूलाई समर्पित गर्दै आएका पाैडेलले अन्तर्राष्ट्रिय छन्द दिवसहेतु युनेस्काेमा प्रत्रचार पनि गरिसकेका छन ।

You might also like
Leave A Reply

Your email address will not be published.