Nepali News Portal

प्रधानमन्त्री प्रचण्ड र महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आइतबार अमेरिका आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । दुई जनाबीच न्यूयोर्कस्थित राष्ट्रसंघको कार्यालयमा भेट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले गुटेरससँगको भेट भएकोमा खुसी व्यक्त गरेका छन् । उनले गुटेरेससँग नेपालको शान्ति प्रक्रिया, शान्ति सेना, जलवायु परिवर्तन, दीगो विकासका लक्ष्यहरू लगायतका विषयमा छलफल भएको जानकारी दिएका छन् । नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहकार्यलाई थप सुदृढ गर्न दुई जना सहमत भएको पनि प्रधानमन्त्री दाहालको भनाई रहेको छ ।
प्रधानमन्त्री प्रचण्ड’ शनिबार साँझ न्यूयोर्क प्रस्थान गर्ने गरेका थिए । प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने  कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उनले मन्तव्य व्यक्त गर्नेछन् ।
आगामी असोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् । न्यूयोर्कमा रहँदा दाहालले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी  शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले विभिन्न देशका आफ्ना समकक्षीसँग भेट गर्ने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र, सचिव भरतराज पौड्याल, प्रधानमन्त्रीको स्वकीय प्रतिनिधी गङ्गा दाहाल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।

You might also like
Leave A Reply

Your email address will not be published.