Nepali News Portal

‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’को तयारी पुरा

बुटवल । नेकपा माओवादी केन्द्रले देशव्यापी रूपमा संचालन गर्ने तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को तयारी रूपन्देही जिल्लामा पुरा भएको छ । शुक्रबार बुटवलमा संचारकर्मीसंग कुरा गर्दै अभियानका जिल्ला इन्चार्ज गणेशमान पुनले अभियानको तयारी पुरा भएको जानकारी दिए।

‘घर घरमा माओवादी, जनजनमा माओवादी’ नारा दिईएको पार्टीको विशेष रूपान्तरण अभियानको तयारीका क्रममा जिल्लाका १६ वटै पालिकाका एक सय ५६ वटै वडामा पार्टी बैठक सम्पन्न गरिएको जानकारी दिंदै पार्टी स्थायी समिति सदस्य समेत रहेका नेता पुनले वडाहरूमा पार्टी कार्यकर्ताको उपस्थिति देखेर आफु उत्साहित भएको बताए। अभियानमा के गर्नुहुन्छ भन्ने पत्रकारको जिज्ञासाको जवाफमा नेता पुनले पार्टी कार्यकर्ता, शहिद परिवार, अपाङ्ग, घाइते, युवा, महिला, विद्यार्थीसंगै बौद्धिक समुदायसंग अन्तरक्रियासहित सुझाब संकलन तथा पार्टी निर्माण अभियान संचालन हुने बताए। नयाँ ढंगको पार्टी निर्माण अहिलेको आवश्यकता रहेको बताउंदै नेता पुनले सबै नेता कार्यकर्तालाई समेत रुपान्तरित हुन अभियानले प्रेरित गर्ने बताए।

“अहिले हामीमा देखिएको रचनात्मकताको कमी हो, जसले गर्दा नयाँपुस्तामा राजनीतिबाट टाढै बस्न चाहने र सकेसम्म देश नै छोडेर जाने स्थिति पैदा भएको छ” उनले भने, “अभियानले आम युवा समुदायमा उर्जा भर्ने छ, देशमै सम्भावना छ र हामीले देशमै केही गर्नुपर्छ भन्ने आशा जगाउने छ, युवाहरू राजनीतिबाट बाहिर हुँदा पुरानै पुस्ताले पुरानै ढंगले काम गरिरहने हुँदा राजनीतिमा युवापुस्ताको हस्तक्षेप आवश्यक छ भन्ने विषयको संचार अभियानले गर्नेछ।”

त्यसैगरी पत्रकारसंग कुरा गर्दै पार्टीका जिल्ला संयोजक नारायण जिसी ‘निर्मल’ले अभियानको तयारी गर्ने सवालमा रुपन्देही जिल्ला लुम्बिनी प्रदेशमै पहिलो भएको बताए। उनले भने, “हामीले सबै तयारी पुरा गरेका छौं, पार्टीको लुम्बिनी प्रदेश कार्यालयले समेत अन्य जिल्लाको तुलनामा रुपन्देहीको तयारी राम्रो रहेको बताएको छ।” जनयुद्धको आधारक्षेत्र रोल्पा-रूकुम भएपनि जनयुद्धको प्रचार र यसको संचार गर्ने जिल्ला रुपन्देही रहेको उल्लेख गर्दै संयोजक जिसीले रुपान्तरण अभियानमा समेत रुपन्देहीले देशभरी नै फरक सन्देश प्रवाह गर्ने बताए।

पार्टीले भदौ १६ (भोलि) एकैसाथ देशका सात हजार दुई सय ४२ वडामा अभियानको उद्धाटन गर्दैछ। तीन महिनासम्म संचालन हुने उक्त अभियानको नेतृत्व प्रदेशमा केन्द्रिय पदाधिकारी, जिल्लामा स्थायी कमिटि सदस्य र पालिकामा पार्टीका केन्द्रिय सदस्यले गर्दैछन् भने प्रदेश सदस्य र जिल्ला सदस्यलाई वडामा खटाईएको छ।

पार्टी नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध अभियान चलाईरहेको अवस्थामा माओवादी पार्टीले संचालन गर्न गैरहेको वडा केन्द्रित अभियानलाई विशेष महत्वका साथ हेरिएको छ। सरकारले गरेको काम र पार्टीले संचालन गर्न लागिरहेको अभियानले आफूहरूलाई उत्साहित बनाएको माओवादी नेता कार्यकर्ता बताउँछन्।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले समेत अभियानमा देशका सात प्रदेशका सात वटा वडाको जिम्मा लिएका छन्। भोलिको अभियान उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्ड चन्द्रागिरी नगरपालिकाको वडा नम्बर २ मा पुग्ने माओवादीले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.