Nepali News Portal

समाजबादी मोर्चाद्वारा बुटवलमा सन्देश सभाको तयारी

बुटवल । समाजवादी मोर्चाले आगामी भदौ १२ गते बुटवलमा सन्देशसभा गर्ने भएको छ। मोर्चाको प्रदेश समिति घोषणा सहित केन्द्रीय कार्यक्रमअनुसार बुटवलमा सन्देशसभा गर्ने निर्णय भएको मोर्चाको एक घटक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । उनका अनुसार मोर्चाको केन्द्रीय कार्ययोजना अनुरूप सातै प्रदेशहरूमा मोर्चाको प्रदेश समिति घोषणा र सन्देशसभा गर्ने कार्यक्रम अनुरूप बुटवलमा कार्यक्रम गर्न लागिएको हो।
मोर्चामा आबद्ध दलहरू नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टीको बुधबार बसेको लुम्बिनी प्रदेश स्तरीय बैठकले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रदेशस्तरीय बृहत् सन्देशसभा गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने उक्त सन्देश सभामा चार पार्टीका लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरूबाट हजारौं अगुवा कार्यकर्तासहित जनताको सहभागिता रहने कार्यक्रमका प्रचारप्रसार संयोजक मनिकर कार्कीले जानकारी दिए। मोर्चाको केन्द्रीय निर्णय अनुसार लुम्बिनी प्रदेशको बुटवलमा हुने सन्देशसभाको संयोजन गर्ने जिम्मेवारी नेकपाले पाएको छ। बैठकले लुम्बिनी प्रदेशमा समाजवादी मोर्चाको प्रादेशिक तथा स्थानीय संरचना निर्माण गरी प्रदेश अन्तर्गतका सबै स्थानीय तहहरूमा समाजवादी मोर्चाको कार्यक्रम र अभियानहरू संचालन गर्ने कार्ययोजना निर्माण गरेको छ।
संविधानले परिकल्पना गरेको ‘समाजवादउन्मुख’ अर्थराजनीतिक रूपान्तरणका लागि नेपाली मौलिकता अनुरूपको समाजवादी बाटो तय गर्ने लक्ष्यका साथ चार पार्टीले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए।

You might also like
Leave A Reply

Your email address will not be published.