Nepali News Portal

स्थानीय सरकार : शिक्षा बजेटमा देखिएन उदार

पाल्पा । नेपालको संविधान २०७२ ले स्थानीय सरकारलाई माबी तह सम्मको शिक्षा ब्यवस्थापन गर्ने अधिकार र जिम्मेवारी दिएको छ । स्थानीय तहले माबी तह सम्मको जिम्मेवारी पाए पनि जिम्मेवारीको भुमिका निर्बाहमा अपबाद बाहेक खासै चासो दिएको पाइएको छैन । शिक्षा क्षेत्रमा बिनियोजन भएको बजेटको एक तथ्यांकले त्यसलाई पुष्ठि गरेको छ ।

यहाँ पाल्पा जिल्लाका पालिकाहरुले बिनियोजन गरेको बजेटको तथ्यांक प्रस्तुत गरिएको छ , अन्य जिल्लाको अवस्था पनि सरदर देखिन्छ । पाल्पा जिल्लाका १० पालिका मध्य निस्दि गाउँ पालिकाले अन्य पालिकाको तुलनामा सबै भन्दा बढी शिक्षामा बजेट बिनियोजन गरेको छ । आ. ब. २०८०/०८१को लागि निस्दी गाउँपालिकाले कुल बजेटको ९.२५ प्रतिसत बिनियोजन गरेको छ । सबै भन्दा कम १.६६ प्रतिसत रम्भा बगनासकाली गाउँपालिकाले बिनियोजन गरेको जिल्ला शिक्षा बिकास तथा समन्वय इकाईका इकाई प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए । यो संघ र प्रदेशले दिएको अनुदान बाहेकको बजेटको तथ्यांक हो ।

अघिल्लो आर्थिक बर्षमा शिक्षामा रामपुर नगरपालिकाले अन्य पालिकाले भन्दा बढी बजेट बिनियोजन गरेको थियो । आ.ब २०७९/२०८०मा रामपुरले ४.९० प्रतिसत बजेट बिनियोजन गर्दा सबै भन्दा कम तानसेन नगपालिकाले १.०७ प्रतिसत मात्र शिक्षा क्षेत्रमा बजेट बिनियोजन गरेको थियो । चालु आर्थिक बर्षमा माथागढि गाउँपालिकाले कुल बजेटको ६.८३ प्रतिशत , पुर्बखोला गाउँपालिका ५.२१प्रतिशत , तिनाउ गाउँपालिका ४.५८ प्रतिशत, रम्भा गाउँपालिका ४.३प्रतिशत, रिब्दिकोट गाउँपालिका २.९८ प्रतिशत, रैनादेबी छहरा गाउँपालिका २.७५ प्रतिशत , रामपुर नगरपालिका २.२६ प्रतिशत , बगनासकाली गाउँपालिका १.६६ प्रतिशत शिक्षामा बजेट बिनियोजन गरेको छ । समग्रमा पाल्पा जिल्लाको कुल बजेटको ३.८४ प्रतिशत शिक्षामा बजेट बिनियोजन गरेको समन्वय इकाई कार्यालयको तथ्यांक छ । चालु आबमा पाल्पाका १० पालिकाको कुल बजेट ५ अर्ब ५७ करोड १० लाख ८ हजार रहेकोमा शिक्षामा २१ करोड ३९ लाख ५६ हजार बजेट बिनियोजन भएको छ । स्थानीय सरकारले शिक्षामा छुट्टाएको यो बजेट न्यून हो ।

शिक्षाको गुणस्तर कायम गर्न र शिक्षण सस्थालाई साधनश्राेत सम्पन्न बनाउन कम्तीमा पनि २० प्रतिशत बजेट शिक्षाका लागि छुट्टाउनु पर्ने विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । तर यस विषयमा कुनै पनि पालिका गम्भीर भएको छैन ।  रामपुर नगरपालिका कार्यबाहक मेयर बाल कुमारी थापा पालिकाको समग्र बजेट घटेकाले शिक्षामा बजेट घटेको बताइन । “मेयर तथा उपमेयर संग सम्बन्धित कार्यक्रममा पनि शिक्षा जोडीएको छ । ” उनले भनिन-” सडक निर्माण मात्र बिकास हो भन्ने होइन शिक्षाको बिकास सबै भन्दा दिगो बिकास हो त्यो हामिले बुझेका छौं ।”  नेपाल रास्ट्रिय शिक्षक संगठन पाल्पाका अध्यक्ष झलक रायमाझीले शिक्षामा गुणस्तर वृद्धि गर्न बजेटमा पनि वृद्धि गर्न आवस्यक रहेको बताउँछन् । ताननसेन नगरपालिका मेयर सन्तोषलाल श्रेष्ठले शिक्षाको अवस्था र आवस्यकको आधारमा बजेट बिनियोजन गर्नु पर्ने बताए ।

अघिल्लो बर्षको तुलना यो बर्ष शिक्षामा केही प्रतिशत बजेट बढेकोले केही आस गर्ने ठाउ रहेको शिक्षा अभियान्ता सामाजिक स्रोत बिकास केन्द्र नेपाल पाल्पाका कार्यकारी निर्देशक चोप लाल गिरिले बताए । ” केहि आसलाग्दो छ तर बजेट वृद्धि गर्दै जानु पर्छ , शिक्षा सबैको चासोको विषय बनाइनु पर्छ ।” शिक्षा क्षेत्रका अभियान्ता राजेश श्रेष्ठले शिक्षा क्षेत्रको बिकासको लागी बजेट निर्माण गर्दा प्राथमिक दिनु पर्ने बताउँछन । भन्छन- ” बिकासको आधार नै शिक्षा हो , यसलाई प्राथमिक नदिने हो भने कसरी शिक्षामा गुणस्तर कायम गर्न सकिन्छ?”

You might also like
Leave A Reply

Your email address will not be published.