देउखुरी (दाङ ) मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)को लगानीमा बुधबार देखि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धानखोलादेखि लमही सडक स्तरबृद्धिको काम सुरु भएको छ ।
उक्त सडक स्तरबृद्धिको शिलान्यास लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नुभयो । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको सडक मर्मत योजना अन्तर्गत उक्त सडक स्तरबृद्धि हुन लागेको हो । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति(एमसीए–नेपाल) ले उक्त परियोजनाको अनुगमन गर्ने छ ।
दुई कम्पनीले उक्त सडकको ठेक्का पाएका छन् । एमसीए–नेपालले पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्डमा नवीन प्रविधि प्रयोग गरी स्तरोन्नति गर्न शर्मा–कुमार जेभीसँग करिब २ करोड अमेरिकी डलर (भ्याट बाहेक २ करोड ८ लाख डलर) को सम्झौता गरेको छ । जुन नेपाली कम्पनी हो । एमसीसीका अन्य ठेक्काहरु नेपाली कम्पनीले यस अघि पाएका थिएनन् ।
यस्तै उक्त सडक खण्डको स्तरोन्नति र नारायणघाट–मुग्लिङ सडक खण्डको आवधिक मर्मत कार्यको सुपरीवेक्षणका लागि इन्टरनेसनल कन्सल्टान्ट्स एन्ड टेक्नोक्राट्स प्रालिसँग ३६.६ लाख अमेरिकी डलरको अर्को सम्झौता पनि गरेको छ । ठेक्का प्रतिस्पर्धामा नेपालसहित भारत र युक्रेनका गरी ११ वटा कम्पनीले प्रस्ताव हालेका थिए । त्यसमध्ये शर्मा–कुमार जेभी, कालिका कन्स्ट्रक्सन, तुँदी–आशीष जेभी र स्वच्छन्द–रमन जेभी गरी चारवटा कम्पनीहरू पूर्ण नेपालीको स्वामित्वका थिए । स्तरबृद्धिको शिलान्यास गर्नु हुँदै मुख्यमन्त्री आचार्यले परियोजनाबाट जनता प्रत्यक्ष लाभान्वित हुने बिश्वास व्यक्त गर्नु भयो ।
You might also like