Nepali News Portal

उच्च अदालत बुटवलको अतिक्रमीत क्षेत्रका घर टहरा हटाईयो

उच्च अदालत बुटवलको अतिक्रमीत क्षेत्रका घर टहरा हटाईयो
बुटवल । बुटवल उपमहानगरपालिकाले आज दिउसो सरकारी जग्गा अतिक्रमण गरेर बसेको बस्ती खाली गराएको छ ।
उच्च अदालत बुटवलले २०७० सालमै अतिक्रमण भएको जग्गा खाली गर्न सूचना जारी गरे पनि अटेर गरेकाहरूलाई लक्षित गरी हिजो साँझ माइकिङ गरिएको थियो । माइकिङ गरेको १३ घण्टा नपुग्दै आज दिउँसो डोजर चलाएर घर टहरा भत्काइएको छ ।
बुटवल उपमहानगरपालिका–४ मा रहेको उच्च अदालत बुटवल इजलास अगाडिको सरकारी जग्गामा अतिक्रमण गरी बनाइएको बस्ती खाली गराउन नगर प्रहरी र नेपाल प्रहरीको टोली खटिएको थियो । तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको र पछि उच्च अदालत बुटवल इजलासलाई भोगाधिकार दिइएको साबिक कित्ता नं ३९६ मा पर्ने करिब २ बिघा ५ कट्ठा १४ धुर क्षेत्रफलमा बनेका घर टहरा हटाइएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवले अदालतको पूर्वसूचना र सार्वजनिक सूचना अटेर गरेपछि आज दिउँसो सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन डोजर प्रयोग गरिएको जानकारी दिनुभयो । टहरा हटाउन करिब २ घण्टा लागेको थियो । आइतबार अदालतको गेट अगाडि निर्माण गरिएका ९ वटा घर टहरामा डोजर चलाइएको बुटवल–४ का वडाध्यक्ष नरेश्वर पौडेलले जानकारी दिनु भयो ।
सरकारी लिखतमा तत्कालीन अञ्चलाधीशको नाममा रहेको जग्गा २०४६ सालमा अञ्चलाधीश कार्यालय खारेज भएपछि २०४८ पुस ४ गते तत्काली सरकारले उक्त जग्गा तत्कालीन पुनरावेदन अदालत (हालको तुलसीपुर उच्च अदालत बुटवल इजलास) लाई उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसपछि अदालतले आफ्नो नाममा स्रेस्ता कायम भएको जग्गा पत्ता लगाई अतिक्रमण गरी बनाइएका घर टहरा हटाउने प्रयास गरे पनि विभिन्न कारणले रोकिएको थियो । उच्च अदालतले पहिलो पटक २०७० असोज १० गते अनधिकृत घर टहरा हटाउनसम्बन्धी सूचना जारी गरेको थियो । प्रहरीका अनुसार आज रामप्रसाद पाण्डेय, जुना भण्डारी, मिना मरासेनी, नित्यानन्द पाण्डेय, भक्तबहादुर बस्नेत, हरिप्रसाद पाण्डेय, गणेश कुँवर र तुल्ली रिजालका घर भत्काइएका छन् । ति व्यक्तिहरूको अन्यत्र पनि घरजग्गा रहेको पाइएको छ ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले सरकारी कार्यालयको स्वामित्वमा रहेको अतिक्रमीत जग्गा खाली गराईएको बताउदै अदालत अगाडि भत्काइएका घर टहरा र बुटवलको तिनाउ नदी किनारका सुकुमबासीको विषय फरक रहेको बताउनु भएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.