Nepali News Portal

गीता पाण्डे मृत्यु प्रकरण : छानबिन समिति प्रतिवेदन सार्वजनिक ,डा. रुपाखेती निलम्बन

गीता पाण्डे मृत्यु प्रकरण : छानबिन समिति प्रतिवेदन सार्वजनिक ,डा. रुपाखेती निलम्बन
बुटवल । गीता पाण्डेको उपचारमा लापरबाही गरेको भन्दै बुटवलका डा.शतिश रूपाखेतीलाई निलम्बन गर्ने मेडिकल काउन्सिलको निर्णय गरेको छ । समितीले जाेनल फार्मेसी र ईन्दुलेखा क्लिनिक बन्द गर्न सिफारिस गरेको छ ।
नेपाल मेडिकल काउन्सिलको छानबिन समितिले डा. शतिशकुमार रूपाखेतीलाई तत्कालका लागि निलम्बन गर्न सिफारिस गरेको हो । समितिको सिफारिसका आधारमा डा. रूपाखेतीलाई मेडिकल काउन्सिलले पनि निलम्बन गर्ने निर्णय गरेको छ।
काउन्सिलका रजिष्टार डा. सतिषकुमार देवले छानबिन समितिको सिफारिसका आधारमा शनिबार बसेको काउन्सिलको जुम बैठकले तत्कालका लागि डा. सतिष रूपाखेतीलाई निलम्बन गर्ने निर्णय भएको बताउनु भयो ।
डा. सतिष रूपाखेतीलाई तत्कालका लागि निलम्बन गर्ने निर्णय भएको छ,’ उहाँले प्रतिबेदन हस्तान्तरण गर्दै भन्नु भयो ‘गीता पाण्डेयको उपचारमा संलग्न भएका संस्था जोनल फार्मेसी र ईन्दुलेखा स्वास्थ्य क्लिनिकलाई बन्द गर्न जिल्ला प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको छ ।’ त्यस्तै उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि कारबाही गर्न सिफारिस भएको उहाँले जानकारी दिनु भयो ।
पाल्पाको बगनासकाली गाउँपालिका-२ की २९ वर्षीया गीता पाण्डेकाे गर्भपतन गराउने क्रममा वैशाख ६ गते मृत्यु भएको थियो । तर, गीताका परिवारले १२ हप्ताको गर्भ भनेपनि छानबिन समितिको प्रतिवेदनले १३ हप्ता भन्दा बढी समयको गर्भ रहेको औंल्याएको छ ।
त्यस्तै छानबिन समितिले गीता पाण्डेलाई गर्भपतनको औषधि उपलब्ध गराउने जोनल फार्मेसी र अन्तिम अवस्थामा गर्भपतनका लागि संलग्न रहेको ईन्दुलेखा स्वास्थ्य क्लिनिकले सेवा प्रवाहका लागि स्वीकृति नलिएको देखिएको छ ।
बुटवलमा भएको घटनाले देशभरका निजी स्वास्थ्य संस्थाहरूको सेवा प्रवाह, कानुनी बैध्यता र नागरिकको सेवा प्राप्त गर्ने अधिकारका विषयमा गम्भीर रूपमा अध्ययन गर्नुपर्ने देखिएको नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा. कुन्जाङ शेर्पाले वताउनु भयो ।
‘चिकित्सकहरूको आचारसंहिता २०१७ का आधारमा तत्कालका लागि निलम्बन गरिएको हो,’ उहाले भन्नु भयो ‘छानबिनको अन्तिम प्रतिवेदन नआएसम्मका लागि अहिले कारबाही गरिएको हो ।’ छानबिनकै क्रममा फौजदारी अभियोग पनि आकर्षित हुन सक्ने भएकाले अन्तिम कारबाही मेडिकल काउन्सिलको अन्तिम छानबिनपछि मात्र हुने उहाँले वताउनु भयो ।
घटनाको छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका सदस्य डा. सम्राट पराजुलीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियाे। साे समितिले आज प्रतिवेदन सार्वजनिक गरेकाे हाे ।
छानबिन समितिकाे सदस्यहरूमा मेडिकल काउन्सिलका विज्ञहरू स्त्री तथा प्रसूति राेग विशेषज्ञ प्रा. डा. पदमराज पन्त, डा. राजेन्द्र बस्याल, डा. अनुप पन्थी, कानुन व्यवसायी गोविन्द मरासिनी र नागरिक समाजको तर्फबाट दिनेश पाण्डे रहनु भएको थियो ।
पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर २ घर भई हाल तिलोत्तमाको शंकरनगरमा बस्दै आएकी २९ वर्षीय गीताको गर्भपतन गराउने क्रममा गत सोमबार मृत्यु भएको थियो। मृतकका पति प्रकाश पाण्डेले गीताको १२ हप्ताको गर्भमा रहेको भ्रूण असामान्य रहेको भन्दै बुटवलको खत्री नर्सिङ होम, जोनल फार्मेसी र इन्दुलेखा क्लिनिकले गर्भपतन गराउने क्रममा लापरबाही गरेर मृत्यु हुन पुगेको जिकिर गरेर उजुरी दिनु भएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.