बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मा एमआरआई सेवाको शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले अस्पतालको ११६ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा आज उक्त सेवाको उद्घाटन गर्नुभएको छ ।
लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा एमआरआई मेसिन जडानपछि सेवा सञ्चालनमा ल्याइएको हो । सेवाग्राहीको बढ्दो चाप र जनअपेक्षालाई ध्यानमा राख्दै सीमित स्रोत र साधनको अधिकतम प्रयोग गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै लगिएको जनाइएको छ ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रादेशिक अस्पताललाई थप उचाइमा पु¥याउन प्रतिष्ठानको रूपमा विकास गर्ने गरी पहल भइरहेको बताउनुभयो । उहाँले प्रदेशभित्रै सबै प्रकारका रोगको उपचार सम्भव हुने गरी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
प्रदेश सरकारले सेवा विस्तारलाई प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले सेवाग्राहीले सस्तो र सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताउनुभयो ।एमआरआई मेसिन जडान भएपछी सेवाग्राहीले अब सस्तो र सुलभ ढंगले सेवा पाउने अपेक्षा गरिएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति सुरु गरिएको छ । एक हजार दुई सय शैयाको अस्पताल निर्माणको काम अघि बढेको छ । २१ महिनाको अवधिमा ४० प्रतिशत भौतिक प्रगति भएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य मन्त्री खेमबहादुर सारु ले लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै गौरव भएको उल्लेख गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनेगरी काम भइरहेको बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । अस्पतालका सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल ले अस्पतालको प्रगति र भावी योजनाबारे जानकारी दिनुएको कार्यक्रममा अवकाशप्राप्त कर्मचारीहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
साथै २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो । यसैगरी लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव तथा पूर्व नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।
You might also like