बुटवल । आज महाशिवरात्री पर्व । शिवालयहरुमा बिहानै देखि भक्तजनहरुको घुइँचो लागेको छ । रुपन्देहीको बोलबम धाम , मुक्तिनाथ धाम , पाल्पाको शिद्दबाबा मन्दिर लगायतका शिवालयहरुमा भक्तजनहरुको भिड लागेको हो।
पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानस्थित सिद्धबाबा मन्दिरमा बिहानै देखि दर्शन गर्ने भक्तजनको भिड लागेको छ । सिद्धबाबा मन्दिर विकास समितिले यस वर्षको व्यवस्थापन अघिल्ला वर्षभन्दा थप व्यवस्थित र प्रभावकारी बनाएको छ । समितिका अध्यक्ष सन्तोषकुमार शेरचनले भक्तजनको सहजताका लागि गत वर्षझैँ यस वर्ष पनि टोकन प्रणाली लागू गरिएको र निशुल्क बस सेवासमेत सञ्चालनमा ल्याइएको जानकारी दिनु भयो ।
विशेषगरी वृद्धवृद्धा, गर्भवती महिला, अशक्त तथा असहाय व्यक्तिलाई प्राथमिकताका साथ मूल मन्दिरमै पुगेर पूजाअर्चना तथा दर्शन गर्ने व्यवस्था मिलाइएको छ । दैनिक नियमित पूजापाठ सम्पन्न भएपछि बिहान ४ बजेदेखि सर्वसाधारणका लागि दर्शन खुला गरिएकोछ ।
समितिका अनुसार गत वर्ष महाशिवरात्रीमा करिब ४० हजार भक्तजनले दर्शन गरेका थिए। यस वर्ष भने ६० हजारभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ।
त्यसै गरि गुल्मेली सम्पर्क समाज रूपन्देहीको गुरुयोजना स्थल तिलोत्तमा नगरपालिका वार्ड नं ४ मा स्थापित शृङ्गेश्वर धाममा बिहानै देखि भक्तजनको घुइँचो लागेको छ ।
शिवरात्रको पावन अवसरमा धाममा पूजाआजा , भजनकीर्तन गरिएको समाजका महासचिव राजेन्द्र कुुँवरले जानकारी दिनु भयो ।