सुशासनमा नेपाली कम्युनिष्ट पार्टीका नेता नेतृत्वको पालिका उत्कृष्ट
बुटवल । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनको नतिजा अनुसार ग्रामीण क्षेत्रका पालिकाहरुले उत्कृष्टता हासिल गरेका छ्न ।
७ सय ५३ स्थानीय सरकारमध्ये कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका देशभरिकै सबैभन्दा अब्बल सावित भएको छ । पाणिनि गाउँपालिकाले कुल ८३.८४ अंक प्राप्त गरी पहिलो स्थान हासिल गरेको हो ।
८० अंक कटाउने देशभरि चार स्थानीय तह छन् । जसमा अर्घाखाँचीको एक, गुल्मीका २ र रुकुम पश्चिमको एक नगरपालिका छ । रुकुमश्चिमको चौरजहारी नगरपालिकाले ८२.१५ अंक ल्याएर दोस्रो स्थानमा छ । गुल्मीको मालिका गाउँपालिकाले ८१.९८ प्रतिशत र धुर्कोट गाउँपालिकाले ८०.५२ प्रतिशत अंक ल्याएर उत्कृष्ट गाउँपालिकाको सूचीमा अगाडि छन् ।
साविकको माओवादी हालको नेपाली कम्युनिस्ट पार्टीका नेतृत्वले नेतृत्व गरेका स्थानीय तहहरू उत्कृष्ट सावित भएका छन्। मालिका गाउँपालिकाको नेतृत्व नेकपाका युवा नेता देवीराम अर्याल र धुर्कोट गाउँपालिकाको नेतृत्व पार्टीकै अर्का नेता भुपाल पोखरेलले गर्नु भएको छ ।
राप्ती गाउँपालिका यस वर्ष पनि दाङ जिल्लामा प्रथम तथा देशभरिका ७५३ स्थानीय तहमा ९औं स्थान हासिल गर्न सफल भएको छ । यसपालिकाको अध्यक्ष प्रकाश बिष्ट नेपाली कम्युनिष्ट पार्टी कै नेता हुनुहुन्छ । मुल्यांकनमा पहिलो हुने पाणिनी गाउँ पालिकाका अध्यक्ष टेकराज नेउपाले नेकपा एमालेका नेता हुनुहुन्छ ।
देशभरका ७५३ स्थानीय तहमध्ये ८१.९८ अङ्क सहित तेस्रो स्थान हासिल गर्न सफल भएको जानकारी गराउन पाउँदा अत्यन्तै गौरवान्वित भएको मालिक गाउँपालीकाका अध्यक्ष देबिराम अर्यालले बताउनु भयो ।
“यो ऐतिहासिक उपलब्धि सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी साथीहरू, सरोकारवाला निकाय, विकास साझेदार तथा सम्पूर्ण मालिका गाउँपालिकावासीको सामूहिक मेहनत, इमान्दारिता र प्रतिबद्धताको परिणाम हो।” उहाँले भन्नुभयो-” आगामी दिनमा अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी सेवा प्रवाह गर्दै उत्कृष्टताको यात्रालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछौँ।”
कार्यसम्पादन मूल्याङ्कनमा गुल्मीकै अर्को स्थानीय तह धुर्कोट गाउँपालिका पनि उत्कृष्ट पाँचभित्र अटाउँदै ८०.५२ अङ्कका साथ चौथो स्थानमा रहेको हो । यसैगरी सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले ७८.५० अङ्क प्राप्त गरी पाँचौँ स्थान हासिल गरेको छ भने स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७८.१९ अङ्कका साथ छैटौँ स्थानमा परेको छ । मोरङको विराटनगर महानगरपालिका ७८.११ अङ्क सहित सूचीको सातौँ स्थानमा रहँदा डडेलधुराको अमरगढी नगरपालिकाले ७७.७९ अङ्क प्राप्त गरी आठौँ स्थान प्राप्त गरेको छ ।
उत्कृष्ट १० को सूचीमा दाङको राप्ती गाउँपालिका ७७.४६ अङ्कका साथ नवौँ स्थानमा अटाउन सफल भएको छ भने जाजरकोटको भेरीमालिका नगरपालिका ७६.९६ अङ्क प्राप्त गर्दै दशौँ स्थानमा परेको छ ।
आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको उल्लेख छ ।यसैगरी आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको समेत मूल्यांकनको सूचक मानिएको छ ।
आगामी आवको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेकोलाई समेत सूचक मानिएको छ ।
यसबाहेक राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षाको नतिजा, खोप लगाएका बालबालिकाको अनुपात समेत आयोगले मूल्यांकनका आधार मान्ने गरेको छ । कार्यसम्पादन मूल्यांकनमा मधेस प्रदेशका अधिकांश स्थानीय तहको अंक कमजोर आएको छ ।
धनुषाको धनौजी गाउँपालिको ३१.८१ अंक पाएको छ । महोत्तरीको सोनमा गाउँपालिकाले ३५ अंक पाएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले ३५.१६ अंक पाएको आयोगले जनाएको छ ।
उपमहानगरमध्ये कार्यसम्पादन मूल्यांकनमा बुटवल पहिलो
देशभरिका ११ उपमहानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहागरपालिका सबैभन्दा अगाडि देखिएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार कार्यसम्पादन मूल्यांकन नतिजा सार्वजनिक गरेको छ । जस अनुसार सबैभन्दा अगाडि ६४.४४ अंकसहित बुटवल छ । बुटवल उप महानगरका मेयर खेलराज पाण्डे नेपाली कांग्रेस निकटका हुन।
सबैभन्दा कमजोर इटहरी उपनगरपालिका छ । इटहरीले ३८.९६ अंकमात्र पाएको छ ।
दाङका दुई उपमहानगरमध्ये तुल्सीपुरले ६१.५३ र घोराहीले ६१.०८ अंक पाएको तथ्यांक छ । धरान उपमहानगरले ४९.७६ अंक पाएको देखिन्छ ।
कुन उपमहानगरपालिकाले कति पाए अंक ?
बुटवल : ६४.४४
तुल्सीपुर : ६१.५३
घोराही : ६१.०८
धनगढी :५६.६०
नेपालगञ्ज : ५६.४५
हेटौंडा : ५४.१३
जनकपुर : ५१.५८
धरानः ४९.७६
कलैया : ४९.५७
जीतपुर सिमराः ४८.३९
इटहरी : ३८.९६