युवाको चाहना मैले बुझेको छु, पुस्तान्तरण र सुशासनको लागी मलाई साथ दिनुहोस् : विश्वदिप
बुटवल । प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि रुपन्देही क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेद्वार सुभाष पाण्डे (विश्वदीप) राजनीतिकमा पुस्तान्तरण आवश्यक रहेको बताउनु भएको छ ।
युवा पुस्ताले राजनीतिकमा पुस्तान्तरण र सुशासन चाहेको बताउनुहुँदै उहाँले नेपाली कम्युनिष्ट पार्टीले यसलाई आफ्नो एजेन्डाको रूपमा अघि सारेको बताउनु भयो ।
मंगलबार बुटवलमा वडा नं. ११ को प्रचार–प्रसार कार्यालय उद्घाटन गर्दै युवा नेता पाण्डेले नव युवाको आन्दोलनको मर्म बोकेर आफू चुनावी मैदानमा आएकाले मतदान गरि साथ दिन आग्रह गर्नु भयो । “युवाको चाहना मैले बुझेको छु, पुस्तान्तरण र सुशासनको लागी मलाई साथ दिनुहोस् ।” उहाँले भन्नुभयो – म सधै तपाईंहरु संग छु रहिरहने छु ।” निर्वाचनमा हारजीत जेसुकै भएपनि जनताको साथ नछोड्ने उहाँको भनाई छ ।
निर्वाचन परिचालन समितिका संयोजक नारायण जीसी (निर्मल) ले पुराना दलहरु नेकपा एमाले र नेपाली काँग्रेसको अबैज्ञानिक राज्य संचालन नीतिका कारण देशमा जेन्जी आन्दोलन भएको बताउनु भयो । अब जेन्जी आन्दोलनको मर्म अनुसार काम गर्न सक्ने पार्टी नेकपा नै रहेको उहाँको भनाई थियो । कार्यक्रममा नेताहरु शिव घिमिरे, माधव पन्त लगायतकाले बोन्दै यसपटक नेकपाका उम्मेद्वार पाण्डेलाई जिताउन सबैमा अपिल गर्नुभयो ।
युवा नेता पाण्डेले गत शुक्रबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियान शुरु गर्नुभएको थियो । रुपन्देही क्षेत्र नं. २ मा पर्ने सैनामैनाका चारवटा वडामा पाण्डेले घरदैलो अभियान सक्नुभएको छ । घरदैलो अभियानको क्रममा सैनामैनाबासीले निकै सद्भावका साथ आफूलाई हौसला प्रदान गरेको पाण्डेले अनुभव सुनाउनुभयो । सैनामैनाका वडा नं. १, २, ३ र ४ मा उहाँले घरदैलोमै पुगेर जनतासंग भोट माग्नुभएको छ । मंगलबार उहाँले सैनामैनाको मुर्गिया क्षेत्रमा शिलशिला पथ, रारा पथ, बुद्ध पथ, प्रगति टोल, प्रभात टोल, सिसौडांडा लगायतका ठाउँमा घरदैलो गर्नुभएको हो ।