Nepali News Portal

लुम्बिनी प्रदेशलाई शैक्षिक हबका रुपमा बिकास गर्न सकिन्छ : मन्त्री तिमिल्सिना

बुटवल । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले लुम्बिनी प्रदेशलाई शैक्षिक हबका रूपमा विकास गर्न सकिने बताउँदै  त्यसको नेतृत्व बुटवलले लिनुपर्ने बताउनु भएको छ ।
बुटवल कालिका क्याम्पसको बुधबार भएको १२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई उद्घाटन गर्नु हुँदै उहाँले यस्तो बताउनु भएको हो ।
लुम्बिनी प्रदेशमा हाल १२ लाखभन्दा बढी विद्यार्थी रहेको जानकारी गराउदै उहाँले एसईई नतिजा सुधारका लागि विभिन्न पहल गरिएकाले उत्तीर्णता दर ३८.६५ प्रतिशतबाट गत वर्ष ६२ प्रतिशतमा पुगेको दाबी गर्नु भयो। विद्यालय तथा क्याम्पसका कक्षा कोठामा प्रविधिको प्रयोग अझ प्रभावकारी बनाउनुपर्ने उहाँको सुझाव छ । शैक्षिक पूर्वाधार र प्रविधि विकासलाई मन्त्रालयले प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले त्यसका लागि मात्र ७ करोड ९६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
“शिक्षा सुधार नगरी समाज सुधार सम्भव छैन। शिक्षा क्षेत्रलाई राजनीतिबाट टाढा राख्न आवश्यक छ।” उहाँले भन्नु भयो ।
मन्त्री तिमिल्सिनाले नकारात्मक सोच त्यागेर सकारात्मक मानसिकतासहित समयअनुकूल परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले बुटवल कालिका क्याम्पसले शिक्षा क्षेत्रमै देशभर उदाहरणीय काम गर्दै आएको बताउनु भयो युवालाई आकर्षित गर्न शिक्षा, सीप र प्रविधिलाई जोडेर नयाँ कार्यक्रम ल्याउनुपर्ने सुझाव दिनुहुदै व्यावहारिक तथा सीपमूलक शिक्षामार्फत युवा पलायन रोक्न सकिने बताउनु भयो ।
क्याम्पस प्रमुख घनश्याम पाठकले छोटाे समयमै क्यूएए प्रमाणिकरणसहित धेरै उपलब्धि हासिल गरेको क्याम्पसमा हाल ४ हजार विद्यार्थी अध्ययनरत जानकारी दिनु भयो ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले प्राध्यापकको लगनशीलता, विद्यार्थीको अनुशासन र परिश्रमका कारण हरेक संकायमा उत्कृष्ट नतिजा आएको बताउनु भयो । क्याम्पसमा डिजिटल प्रविधि विस्तार भइरहेका योजनाबारे पनि उनले जानकारी दिए। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले शिक्षा सुधारमा समुदायको समान दायित्व रहेको बताए।
वार्षिकोत्सवको अवसरमा क्याम्पसले स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कार मेचीकाली राष्ट्रिय दैनिकका वरिष्ठ संवाददाता प्रकाश आचार्यलाई प्रदान गरिएको थियो। यस्तै, उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी, क्याम्पस विकासमा योगदान पुर्‍याने प्राध्यापक तथा कर्मचारीहरूलाई नगदसहित सम्मान गरिएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.