बुटवल । साहित्यकार तथा वरिष्ठ समालोचक डा. नारायणप्रसाद पन्थ नव जागृति पुस्तकालय बुटवलद्वारा स्थापित कविरत्न माधवप्रसाद देवकोटा पुरस्कार- २०८२ बाट सम्मानित हुनुभएको छ । खास गरी समालोचना तथा लुम्बिनी प्रदेशको नाट्य विधाको अन्वेषणमा पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गरी उहाँलाई यो पुरस्कार प्रदान गरिएको हो ।
एक भब्य कार्यक्रमबीच बुटवलमा उहाँलाई प्रमुख अतिथि विश्व हिन्दु महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बेनप्रसाद पौडेल क्षेत्री, मूल्याङ्कन समितिका संयोजक प्रा. डा. हिरण्यलाल ज्ञवाली तथा पुस्तकालयका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठले सम्मान तथा पुरस्कृत गर्नुभयो । स्व. माधवप्रसाद देवकोटाको १२३ औं जन्मजयन्तीका अवसरमा सम्मानपत्र, दोसल्ला तथा नगदसहित उहाँलाई सम्मान गरिएको हो । सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान दिनु भएका समालोचक डा. पन्थ २ दशक देखि बुटवल बहुमुखी क्याम्पसमा प्राध्यापनरत हुनुहुन्छ । समालोचना र अनुसन्धानका क्षेत्रमा विशेष योगदान दिनुभएका डा. पन्थले नेपाल संस्कृत बिश्वबिधालयबाट बिधाबारिधि गर्नुभएको छ । उहाँको साहित्य र सहित्येेतर गरी दुई दर्जन भन्दा बढी कृति प्रकाशित छन् ।