Nepali News Portal

राप्तीले दिन्छ दुधमा अनुदान ,कृषक उत्साहित

तुल बहादुर कवँर मगर
देउखुरी । दाङ्गको राप्ती गाउँपालिकाले दुधमा अनुदान दिन थालेपछि दूध उत्पादक कृषकहरू उत्साहित भएका छन्।

पालिकाले दुध उत्पादक किसानलाई प्रति लिटर दुई रुपैयाँ दिने गरेको छ। आर्थिक वर्ष २०७९/०८० मा पालिकामा १ लाख ७३ हजार ७ सय ५३ लिटर दुध उत्पादन भएको थियो।

दुधमा प्रति लिटर दुई रुपैयाँका दरले किसानलाई प्रोत्साहन स्वरुप रकम उपलब्ध गराइएपछि पालिकामा दुध उत्पादनमा समेत वृद्वि भएको पशुसेवा शाखाका शाखा प्रमुख जिवराज पौडेलले जानकारी दिए।

आव २०७९/८० मा ७३ किसानहरुलाई दुधमा अनुदान दिइएको थियो।पालिकामा दर्ता भएका ९ वटा डेरीहरु मार्फत दूध बिक्री गर्ने ७३ जना किसानले अनुदान पाएका हुन्। दुध विक्री गरेको आधारमा किसानहरुलाई प्रोत्साहन रकम प्रदान गरिएको शाखा प्रमुख पाैडेलकाे भनाई रहेको थियो। पालिकाले दिने अनुदान रकम सिधै किसानको बैंक खातामा पठाउने व्यवस्था गरिएको छ।

अनुदान अन्तर्गत ७३ किसानले ३ लाख ४७ हजार ५ सय ६० रुपैयाँ प्राप्त गरेका थिए। पालिकामा उत्पादन भएको दुध अधिकाशं पालिका भित्रै खपत हुने र केहि पालिका बाहिर समेत निकासी हुने गरेको छ।

दुध उत्पादक सहकारी संस्था तथा डेरीहरुमा उपलब्ध विवरणका आधारमा पालिकामा १ लाख ७३ हजार ७ सय ५३ लिटर
लिटर दुध उत्पादन भएको छ। गाउँमै उत्पादन भएर गाउँमै खपत भएको रेकड भने नभएकाले यो भन्दा धेरै दुध पालिकामा उत्पादन हुने गरेको र यस वर्ष देखि त्यस्ता किसानहरुलाई पनि समेटेर लगिने बताइएको छ।

किसानलाई दुधमा अनुदान उपलब्ध गराउदा पालिकामा अघिल्ला वर्ष भन्दा यस वर्ष दुध उत्पादनमा वृद्वि भएको शाखाले जनाएको छ।आगामी आर्थिक वर्षमा समेत उक्त कार्यक्रम लाई निरन्तरता दिदै अनुदान लाई बढाएर प्रति लिटर ४ रुपैयाँ गराइएको छ।

दूध उत्पादक सहकारी संस्था तथा डेरीहरू मार्फत दूध बिक्री गर्दा कृषकहरूकाे समयकाे बचत हुनुका साथै उपभाेक्ताहरुलाई समेत स्वस्थकर दूध उपलब्ध गराउन सहज हुने गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए।

गत वर्ष अनुदान पाउन बाट छुट भएका दूध उत्पादक किसानहरुलाई समेत यस वर्ष साे कार्यक्रममा समेटेर लैजाने पालिका अध्यक्ष विष्टले बताएका छ्न । आगामी आर्थिक वर्षको लागि अनुदान रकम बढाएर प्रतिलिटर ४ रुपैया गराईएको अध्यक्ष विष्टले जानकारी दिए ।

You might also like
Leave A Reply

Your email address will not be published.