भेनेजुएला माथी अमेरिकी आक्रमण : संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठक माग
राष्ट्रपति निकोलास मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेको ट्रम्पको भनाई
भेनेजुएलाले अमेरिकी हमलाबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन माग गरेको छ।
भेनेजुएलाका विदेशमन्त्रीले अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्नुपर्ने बताउनु भएको विबिसीले जनाएको छ ।
हमाल पछी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले “भेनेजुएलाविरुद्ध ठूलो आकारमा गरेको आक्रमण”मा “त्यहाँका नेता राष्ट्रपति निकोलास मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेको” जनाउनु भएको छ ।
उहाँहरूलाई देशबाहिर लगिसकिएको ट्रम्पले आफ्नो सोसल मिडिया पोस्टमा लेख्नु भएको छ ।
मदुरोलाई कसरी पक्राउ गरियो वा कहाँ लगियो भन्ने बारेमा ट्रम्पले थप विवरण खुलाउनु भएको छैन । तर अमेरिकी महान्यायाधिवक्ताले मदुरोविरुद्ध लागुऔषध र आतङ्कवादका अभियोग घोषणा गरेका छन्।
छिमेकी कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले उक्त हमलालाई लिएर गहिरो चिन्ता व्यक्त गर्नु भएको छ । आफ्नो जनसंख्याको सुरक्षा गर्न र भेनेजुएलाबाट आउन सक्ने मानिसहरूको व्यापक सङ्ख्यासँग जुझ्नका लागि सीमामा सेना तैनाथ गर्न आदेश दिनु भएको छ ।
कराकसमा सुरुवाती विस्फोटनको खबर आएदेखि नै पेत्रोले बारम्बार शान्ति र संवादको लागि आह्वान गर्दै आउनु भएको छ । उहाँले अर्गनाइजेसन अफ् अमेरिकन स्टेट्स (ओएएस) र संयुक्त राष्ट्रसङ्घको “तत्काल बैठक”को बोलाउन आग्रह गर्नु भएको हो । कोलम्बिया र भेनेजुएलाबीच २,००० किलोमिटरभन्दा लामो स्थल सीमा छ। विगतदेखि नै दुई देशमा आर्थिक र सुरक्षा सङ्कट हुँदा लाखौँ मानिसहरूलाई एकअर्काका देशमा शरण लिन बाध्य पारेको इतिहास छ।
रुस र क्युबाको भनाइ :
कराकसका निकट सहयोगी रुस र क्युबा दुवैले आक्रमणको निन्दा गरेका छन्। मस्कोले अमेरिकी सैन्य कारबाहीलाई ‘निकै चिन्ताजनक’ भनेर व्याख्या गरेको छ।
क्युबाका राष्ट्रपति मिगेल डियाज-कनेलले आफ्नो देशले “अमेरिकाले भेनेजुएलामा गरेको आपराधिक आक्रमणको निन्दा गर्छ र तत्काल अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रियाको माग गर्छ” भन्नु भएको छ ।
युरोपेली सङ्घ ईयूले संयम अपनाउन आह्वान गरेको छ।
स्पेनले शान्तिपूर्ण समाधान खोज्नका लागि आफ्नो देशले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न सक्ने प्रस्ताव गरेको छ।
जर्मनी र इटालीले परिस्थितिलाई नजिकबाट हेरिरहेको बताएका छन्।
‘यूके संलग्न छैन’
प्रधानमन्त्री किअर स्टार्मरले भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा ब्रिटेन “कुनै पनि हिसाबले संलग्न नभएको” बताउनु भएको छ । तर यसबारे टिप्पणी गर्नुअघि आफूले थप सूचना खोजिरहेको प्रतिक्रिया दिनु भएको छ ।
छिमेकमा बढी चिन्ता
भेनेजुएलामा देखा परेको अभूतपूर्व अवस्थाको सिधा प्रभाव कैयौँ देशहरूमा पर्न सक्ने भए तापनि त्यसको अग्रपङ्क्तिमा कोलम्बिया छ।
अमेरिकी आक्रमणपछि भेनेजुएलाका शरणार्थीहरूको सम्भावित ठूलो आगमनलाई लिएर बोगोटामा समेत तयारी भइरहेको बताइएको छ।
अर्जेन्टिनाका राष्ट्रपति खाबिअर मिलेले भने अमेरिकी हस्तक्षेपको स्वागत गर्नु भएको छ ।
भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोद्रिगेजले राष्ट्रपति मदुरो वा प्रथम महिला रहेको स्थानका बारेमा आफ्नो सरकारलाई कुनै जानकारी नभएको बताउनु भएको छ । सरकारले उहाँहरू दुवैको “तत्काल जीवनको प्रमाण”को माग गरेको उहाँको भनाइ छ ।