Nepali News Portal

बुटवल उद्योग वाणिज्य संघमा नरिश्वर शर्मा पौडेल प्यानलकाे उम्मेदवारी घाेषणा

बुटवल । बुटवलको  पुरानो र प्रतिष्ठित संस्था बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी नेतृत्वका लागि नरिश्वर शर्मा पौडेलले प्यानल नै बनाएर उम्मेदवारी घोषणा गर्नु भएको   छ ।
‎संघको २६औँ अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका आकांक्षीका रूपमा पौडेलले आज बुटवलमा पत्रकार सम्मेलनमार्फत आफ्नो दाबी प्रस्तुत गर्नु भएको हो ।
‎उहाँको प्यानलमा उद्योगी–व्यवसायीको हकहित, लगानीको वातावरण र बुटवलको आर्थिक विकासलाई केन्द्रमा राखेर नेतृत्व गर्ने प्रतिबद्धतासहित पौडेलको प्यानलमा वरिष्ठ उपाध्यक्ष पदमा  सुरज भट्टराईले दाबी पेश गर्नु भएको छ । उहाँ  हाल संघकाे उद्योग उपाध्यक्ष हुनुहुन्छ ।
‎यस्तै उद्योग उपाध्यक्षमा निर्मित कसजु, वाणिज्य उपाध्यक्षमा बाबुराम बिश्वकर्मा, महासचिवमा बसन्तप्रसाद ढकाल, काेषाध्यक्षमा प्रतीक पाेखरेल, सचिवमा दिपकप्रसाद चापागाईं र काेषाध्यक्षमा कमला पाेखरेल पराजुली ( मन्जु ) ले उम्मेदवारी घाेषणा गर्नु भएको छ ।
‎ अध्यक्ष पदका प्रत्यासी पौडेल  बुटवल उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्षसमेत  हुनुहुन्छ ।  पौडेल उद्योगी–व्यवसायीका बीचमा लामो समयदेखि सक्रिय व्यक्तिका रूपमा चिनिनु हुन्छ । स्थानीय तहको जनप्रतिनिधिका रूपमा सार्वजनिक जिम्मेवारी निर्वाह गरिरहेका पौडेलको उद्योग–व्यवसाय क्षेत्रसँगको सम्बन्ध पनि पुरानो हो।
‎‎पौडेल यसअघि बुटवल उद्योग वाणिज्य संघमा वाणिज्य उपाध्यक्षको जिम्मेवारी सम्हालि सक्नु भएको छ ।
‎पौडेलको परिचय राजनीतिक र स्थानीय जनप्रतिनिधिको भूमिकामा मात्र सीमित छैन। लामाे समयदेखि उद्योग–व्यवसाय क्षेत्रमा संलग्न उहाँको परिवार नै रुपन्देहीको उद्योग–व्यवसाय क्षेत्रमा सक्रिय रहेको देखिन्छ। यशोदा फुड प्रोडक्टसहित विभिन्न उद्योगमा परिवारको संलग्नता रहेको छ ।
‎बुटवल उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि पौडेलले उद्योगी–व्यवसायीको हितमा काम गर्ने उद्देश्यसहित अध्यक्ष पदमा अघि बढेको बताउनु भएको छ । उहाँले  उद्योगी तथा व्यवसायीका समस्या समाधान गर्न संघको नेतृत्व आवश्यक रहेको बताउँदै अध्यक्ष पदमा उम्मेदवारी दिने घाेषणा गर्नु भएको हो ।
‎‎उहाको उम्मेदवारीसँगै आगामी निर्वाचनमा संघको नेतृत्वका लागि प्रतिस्पर्धा थप रोचक बनेको छ। अध्यक्ष पदका लागि टंकप्रसाद गैरे र दिनेशप्रसाद श्रेष्ठ पनि आकांक्षीका रूपमा देखिनु भएको छ । गैरे संघका वर्तमान वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ  भने श्रेष्ठ यसअघि अध्यक्ष पदमा प्रतिस्पर्धा गरिसकेका व्यवसायी हुनुहुन्छ ।
‎‎उद्योग–व्यवसाय क्षेत्रको अनुभव, संघमा विभिन्न जिम्मेवारी निर्वाह गरेको पृष्ठभूमि र स्थानीय तहको जनप्रतिनिधिका रूपमा काम गरेको अनुभव पौडेलको उम्मेदवारीका प्रमुख आधार देखिन्छन्।
‎
‎विशेषगरी उद्योगी–व्यवसायीका समस्या स्थानीय सरकार तथा सम्बन्धित निकायसम्म पुर्‍याउन र निजी क्षेत्र तथा सरकारबीच समन्वय कायम गर्न आफू सक्षम हुने पौडेल पक्षको दाबी छ।
‎
‎बुटवलमा व्यवसाय सञ्चालनका क्रममा व्यवसायीले भोग्दै आएका कर, बजार व्यवस्थापन, पूर्वाधार, बैंक तथा वित्तीय क्षेत्र, सीमावर्ती बजारसँगको प्रतिस्पर्धा तथा लगानीमैत्री वातावरण निर्माणजस्ता विषय आगामी नेतृत्वका लागि महत्वपूर्ण चुनौतीका रूपमा रहेका छन्।
<span;>‎बुटवल उद्योग वाणिज्य संघ २०१० साल फागुन १० गते बुटवल व्यापार संघका रूपमा स्थापना भएको संस्था हो। अहिले संघमा करिब २ हजार २ सय सदस्य रहेका छन् । लामो इतिहास बोकेको संघले बुटवल तथा रुपन्देहीको उद्योग–व्यवसाय प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
‎यस्तो ऐतिहासिक संस्थाको अध्यक्ष पदका लागि पौडेलको उम्मेदवारीलाई व्यवसायी क्षेत्रमा चासोका साथ हेरिएको छ। एकातिर उद्योग–व्यवसाय क्षेत्रको अनुभव र अर्कोतर्फ स्थानीय जनप्रतिनिधिका रूपमा प्राप्त राजनीतिक तथा सामाजिक अनुभवलाई उनले आफ्नो उम्मेदवारीको आधार बनाएका छन्।
‎‎अबको निर्वाचनले पौडेलसहित अध्यक्ष पदका आकांक्षीमध्ये कसलाई बुटवलका उद्योगी–व्यवसायीले आफ्नो नेतृत्वका रूपमा रोज्छन् भन्ने निर्धारण गर्नेछ। अध्यक्ष पदको प्रतिस्पर्धासँगै संघको आगामी कार्यसमितिमा कुन समूह र कस्ता एजेन्डाले प्राथमिकता पाउँछन् भन्ने विषय पनि उत्तिकै चासोको विषय बनेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.