एमाले महाधिवेशन : ओली र पोखरेलले भोट हालेर मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
अध्यक्षका प्रत्याशी केपी शर्मा ओली मतदानस्थल पुगेसँगै मतदान सुरु भएको हो । ओली र अर्का प्रत्याशी ईश्वर पोखरेलले मत हालेर सुरु गर्नु भएको हो ।
मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो ।
बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि भृकुटीमण्डपमा केही ढिला गरी सुरु भएको हो । प्रतिनिधिहरु भने बिहानैदेखि मतदानका लागि लाइनमा थिए । २२६३ प्रतिनिधिले आफ्नो नेतृत्व चयन गर्नेछन ।
विद्युतीय मेसिनबाट मतदान भइरहेको छ । मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट मतदान भईरहेको छ ।
नयाँ नेतृत्वमा केपी ओली र ईश्वर पोखरेल समूह प्यानलसहित प्रतिस्पर्धामा छन् । दुवैको प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् ।