Nepali News Portal

दुई दिने राष्ट्रिय गोष्ठी सम्पन्न

बुटवल ।
समाजको विकासका लागि क्याम्पस तथा विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहने दुई दिनसम्म रूपन्देहीको मणिग्राममा आयोजित कार्यक्रमका विज्ञहरूले जोड दिएका छन् ।

राममणि बहुमुखी क्याम्पसमा विश्विद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित “इमर्जिङ् च्यालेञ्जेज इन नेपाल्स विजनेश इन्भाइरनमण्ट” (नेपाली व्यवसायिक वातावरणमा उदीयमान चुनौतीहरू) विषयक दुई दिने राष्ट्रिय गोष्ठीका अवसरमा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूले यो धारणा व्यक्त गरेका हुन् ।

गोष्ठीमा नेपाली व्यवसायिक क्षेत्रका द्वन्द्वात्मक अवस्था, जोखिमका अवस्था, वैदेशिक रोजगारीले ल्याएका अवसर तथा चुनौती, विप्रेषणका प्रभावहरू, द्वन्द्व व्यवस्थापनको लागि परम्परागत अभ्यास साथै जोखिम व्यवस्थापनका लागि विमाको महत्व लगायत विषयमा प्राज्ञिक बहस सम्पन्न भएको छ ।

गोष्ठीमा ६ जना विज्ञहरूले अनुसन्धान कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गोष्ठीको दोस्रो दिन आज (शनिबार) प्रा.डा. गणेशप्रसाद पाठकले संघ संस्थाहरूमा द्वन्द्व विषयको अनुसन्धान कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै सहप्राध्यापक डा. रेशम थापाले नेपाली अर्थतन्त्रमा विप्रेषण सम्बन्धी जोखिम व्यवस्थापन विषयमा अनुसन्धान कार्यपत्र प्रस्तुत गर्नुभयो ।

यसअघि, हिजो प्रा.डा. बाबुराम ज्ञवाली, पोखरा विश्वविद्यालयका सह प्राध्यापक डा. रविन्द्र घिमिरे, क्याम्पसका प्राध्यापकहरू डा. अशोक भण्डारी र कृष्णकुमार रेग्मीले अनुसन्धान कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यसैबीच, क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिका संयोजक डा. अशोक भण्डारीको अध्यक्षतामा आयोजित समापन सत्रका अवसरमा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले थप अनुसन्धनात्मक कार्यक्रम आयोजना गर्न क्याम्पस उत्साहित भएको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक तथा अन्य विभिन्न विश्वविद्यालयका शोधार्थीहरू समेत गरी ६० जना संलग्न गोष्ठीमा बोल्दै क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले प्राज्ञिकता अभिवृद्धिमा क्याम्पसले विशेष महत्व दिएको उल्लेख गर्नुभयो ।

समापन कार्यक्रममा बोल्दै अर्थशास्त्रका प्राध्यापक डा. बाबुराम ज्ञवालीले अनुसन्धानकर्ताका उत्कट जिज्ञासा सहितका अनुसन्धानले समाजलाई मार्गनिर्देश गर्ने बताउनुभयो ।

अनुसन्धान व्यवस्थापन समितिका सदस्य माया घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा पूर्व क्याम्पस मोहनराज शर्मा, पशुपति कलेजका चन्द्रप्रकाश न्यौपाने लगायतले बोल्दै कार्यक्रम प्रेरणादायी, ज्ञानदायी र उच्च प्राज्ञिकस्तरको भएको उल्लेख गर्नुभयो ।

 

You might also like
Leave A Reply

Your email address will not be published.