सुनिता चुदाली
बुटवल । अस्थायी वा स्थायी रुपमा पहाडी जिल्लाबाट तराईमा बसाइँ सर्नेको संख्या उच्च छ । रुपन्देही जिल्लामा पनि अन्य जिल्लाबाट आएर अस्थायी र स्थायी रुपमा बसोबास गर्नेको संख्या बढदै गएको छ । तराईमा घर छ बसाई पनि छ तर औपचारिक बसाइँसराइ छैन । लगत गाउँको वडा कार्यालयमा छ, सेवा लिने ब्यक्ति तराईको शहर बजारमा छ । जहाँ लगत रेकर्ड छ त्यहा सेवाग्राही नबस्दा सेवा प्रदान गर्ने निकायका पदाधिकारीहरु जनप्रतिनिधि नै सेवाग्राही खोज्दै तराई झर्न थालेका छ्न ।
सत्यवति गाउँपालिका वडा न- ५ हंसराका वडा अध्यक्ष बाबुराम ज्ञवालीले रुपन्देही आएर जिल्लाका विभिन्न पालिकाहरुमा बसाई गरेका ३१ जनाको सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नवीकरण गरिदिनु भयो । जसमा भत्ता बुझ्ने जेष्ठ नागरिक २५ जना, ३ जना एकल महिला , बाल पोषण भत्ता पाउने ३ जना सेवाग्राही रुपन्देहीबाट सेवा लिनु भयो । सत्यवती ५ न वडामा स्थायी ठेगाना रही रुपन्देहीमा बसोबास गर्नेहरुलाई सेवा प्रदान गर्न वडा अध्यक्ष ज्ञवाली सहित सदस्य ऋषि भण्डारी र वडा सचिब सिताराम सुर्खेती पनि रुपन्देही आउनु भएको थियो ।
सत्यवती हंसरा गुल्मी सम्पर्क समाज रुपन्देहीले यस कार्यको लागी समन्वय र सहजीकरण गरेको थियो । सनिवार शंकरनगर बनबाटिकामा भेला भएका सामाजिक सुरक्षा भत्ता बुझ्ने जेष्ठ नागरिक पनि सेवा पाएपछी दङ्ग हुनुहुन्थ्यो ।
- “विभिन्न कारणले उतै (रुपन्देही) बस्नु भएको छ । ” वडा अध्यक्ष ज्ञवालीले लुम्बिनी हेडलाइन्ससंग भन्नुभयो- म निर्बाचित भए देखी नै रुपन्देही पुगेर सेवा दिदै आएको छु ।” उहाँले तीन बर्षदेखी रुपन्देही आएर आफ्ना सेवाग्राहीलाई सेवा दिएको बताउनु भयो ।
“विभिन्न कारणले उतै (रुपन्देही) बस्नु भएको छ । ” वडा अध्यक्ष ज्ञवालीले लुम्बिनी हेडलाइन्ससंग भन्नुभयो- म निर्बाचित भए देखी नै रुपन्देही पुगेर सेवा दिदै आएको छु ।” उहाँले तीन बर्षदेखी रुपन्देही आएर आफ्ना सेवाग्राहीलाई सेवा दिएको बताउनु भयो । ती सेवाग्राहीले सत्यवती गाउँपालिकाले सम्झौता गरेको कुमारी बैंक, साइन रेसुङा बैकबाट निस्साको आधारमा यतैबाट भुक्तानी लिन सक्नुहुन्छ ।
सत्यवती गाउँपालिका ५ हंसरा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता बुझ्ने ४ सय २८ जना सेवाग्राही हुनुहुन्छ । ६८ बर्ष पुग्नु भएका जेष्ठ नागरिक २ सय ६७, जेष्ठ दलित ३२, बिधवा ४३, एकल महिला २४, पुर्ण अपांङ्गता ८, आंशिक अपांङ्गता १९, बालपोषण भत्ता लिने ३५ जना रहेको अध्यक्ष ज्ञवालीले जानकारी दिनु भयो ।
सम्पर्क समाजका अध्यक्ष माधब भण्डारीले बर्खाको समयमा सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरणको लागी मात्रै गुल्मी जानबाट वृद्धवृद्धालाई सहयोग होस भन्ने उदेश्यले जनप्रतिनिधि र कर्मचारीलाई यतै आउन आग्रह गरिएको बताउनु भयो । “उहाँहरु आइदिनु भयो जेष्ठ नागरिक सेवाग्राहीलाई सहज भयो, उहाँहरु खुशी हुनुभएको छ ।” उहाँले भन्नू भयो । गुल्मी हंसराबाट रुपन्देही आएर स्थायी र अस्थायी रुपमा बसोबास गर्नु भएकाहरुलाई भेला गराई तिज मिलन सहित दर पनि खुवाईएको थियो ।