राप्ती उपत्यका (देउखुरी ) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आईतबार विश्वासको मत लिने हुनु भएको छ । चौथो अधिवेसनको २४ औं बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने सम्भावीत कार्यसूची तय भएको छ ।
लुम्बिनी प्रदेश सभाले २४ औं बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले वक्तव्य सहित आफूमाथी प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेश गर्ने र सो प्रस्ताव माथी छलफल भई उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्री दिने सम्भावीत कार्यसूची रहेको प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो।
यस्तै बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट मौजुदा मन्त्रिपरिषद्मा कार्यविभाजन गरी पुर्नगठन गरिएको पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ ।
केन्द्रमा कांग्रेस–एमाले सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिनुका साथै समर्थन फिर्ता लिएका थिए । सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री महराको सरकार अल्पमतमा परेको थियो ।
सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने वा राजीनामा दिनुपर्ने हुन्छ । माओवादी संसदीय दल नेता महरा एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।