Nepali News Portal

भष्ट्राचार निवारण र सुशासन पहिलो प्राथमिकता: मुख्यमन्त्री महरा

बुटवल लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भष्ट्राचार विरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन गर्ने पहिलाे निर्णय गर्नु भएको छ । शपथ ग्रहण पश्चात मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले भष्ट्राचार विरुद्धको रणनीति तथा कार्ययोजना ६० दिनभित्र तयार गरी कार्यान्वयन गर्न कार्यदल गठन गर्नुभयो ।
मुख्यमन्त्री कार्यालयका सचिव निराजन घिमिरेको संयोजकत्वमा भष्ट्राचार निवरण र सुशासनको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि एवम् विज्ञ सदस्य रहेको कार्यदल गठन गरिएको छ । गठित कार्यदलले दुई महिना भित्र कार्ययोजना सहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने छ ।
पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले प्रदेशको समग्र विकासका लागि सबै संग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो  । मुख्यमन्त्री महराले उत्पादन संग जोड्दै बेरोजगारी समस्या समाधान गर्ने, शिक्षा, स्वास्थ्य जस्ता आधारभुत आवश्यकतामा नागरिकको सहज पहुँच बढाउने जिम्मेवारी सरकारले लिने बताउनु भयो । उहाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रदेश तहबाट प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नव नियुक्त मन्त्रीको जिम्मेवारी चाँडै तोकिने र  महिना भित्र सरकारलाई पूर्णता दिनेगरी आफूले पहल लिएको मुख्यमन्त्री महराले जानकारी दिनु भयो ।
यसै बिच लुम्बिनी प्रदेश सरकारले दाङ—देउखुरीको राप्ती गाउँपालिका—१, भालुबाङमा सञ्चालित प्रास्तावित अस्पतालाई लुम्बिनी प्रदेश सरकारले बिशेषज्ञ अस्पतालको रुपमा विकास गर्ने भएको छ ।
नवगठित प्रदेश सरकारको पहिलो प्रदेश मन्त्रीपरिषद् बैठकले राप्ती गाउँपालिका भित्र सञ्चालन भएको अस्पताललाई प्रदेशको बिशेषज्ञ अस्पतालको रुपमा विकास गर्न अर्थमन्त्रालयले पूर्व सहमती दिएको र सोही आधारमा प्रदेश सरकारले स्विकृती दिने निणर्य गरेको मन्त्री तथा सरकारका प्रवक्ता दिपेन्द्र पुनले जानकारी दिनु भयो । यस्तै बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री दिपेन्द्र पुनलाई दिने निणर्य गरेको छ । बैठक मुख्यमन्त्री जोखबहादुर महराको अध्यक्षतामा बसेको थियो ।
यस अघि लुम्बिनी प्रदेशका  मुख्यमन्त्री जोख बहादुर महराले प्रदेश प्रमुख अमिक शेरचन ज्यु समक्ष पद तथा गोपनियताको सपथ लिनु भएको थियो । प्रदेश सभा सदस्य  दिपेन्द्र पुन,  चेतनारायण आचार्य र माननीय भण्डारी लाल अहिरले पनि आजै मन्त्री पदको शपथ ग्रहण गर्नुभयो । सपथ ग्रहण पश्चात  सभामुख तुलाराम घर्ती मगर, पुर्ब मुख्यमन्त्री लिला गिरि लगायतले  मुख्यमन्त्री एव मन्त्रीहरु ज्युलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.