बुटवल ।
प्रेस सेन्टर नेपाल रूपन्देहीले अग्रज पत्रकार तथा पूर्व अध्यक्ष सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बुटवलमा पत्रकारीता क्षेत्रमा लामो समय योगदान गरेका अग्रज पत्रकारहरूलाई सम्मान गरेकोे हो ।
प्रेस स्वतन्त्रता सेनानी कर्ण बहादुर कार्की, मदनलाल पौडेल अग्रज पत्रकारहरू नारायण सापकोटा, गुरूदत्त ज्ञवाली, दुर्गा पौडेल, विनोद पहाडी, यानेन्द्र जिसी, प्रेस सेन्टर रूपन्देहीका संस्थापक अध्यक्ष लेखनाथ न्यौपाने, पूर्व अध्यक्षहरू नारायण ज्ञवाली, रूद्रहरी कुँवर, भुवन कार्की र कमल रायमाझीलाई सम्मान गरीएको हो । लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले पत्रकारलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गर्नुभएको हो ।
प्रमुख अतिथी लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले पत्रकारले उत्पीडन पक्षको वकालत गर्न सक्नुपर्ने , लेखनमा निडर भएर कलम चलाउनुपर्ने, कलमजीवी सधै निर्भिक स्वाभिमानी हुनुपर्नेमा जोड दिदै पत्रकारले सधै दुखी गरिबको पक्षमा उत्पीडनको पक्षमा आवाज उठाएमात्र समाज परिवर्तन संभव हुने बताउनुभयो ।
त्यस्तैगरी प्रेस स्वतन्त्रता सेनानी कर्ण बहादुर कार्कीले आफ्नो कार्यकालमा पत्रकारिताको माध्यमबाट परिवर्तनको पक्षमा सशक्त आवाज उठाएको भन्दै सकारात्मक परिवर्तनको पक्षमालेख्नका लागी लागी सुझाव दिनुभयो । वरिस्ठ पत्रकार डा. बालकृष्ण चापागाईंले अग्रज पत्रकारहरूलाई सम्मान गर्नु समग्र पत्रकारिता क्षेत्रको सम्मान भएको बताउनुभयो । नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोख्रेलले अग्रजको सम्मान गर्नु अहिलेको पुस्ताको जिम्मेवारी भएको बताउदै प्रेस सेन्टरले अग्रजहरूलाई सम्मान गरेको देख्दा आफुलाई खुसी लागेको बताउनुभयो ।
कार्यक्रम प्रेस सेन्टर नेपाल रूपन्देहीका अध्यक्ष बिष्णु प्रसाद पोखरेलको अध्यक्षता र सचिव रमेश गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।