काठमाडौँ । ईपीएसमार्फत कोरिया जान आवेदन दिन पाउनुपर्ने माग राख्दै आएका दुई जना युवाले ज्यान गुमाएका छन् । ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा शुक्रबार विरोध प्रदर्शन गर्न पुगेका दैलेखका सुजन राउत र डोटीका वीरेन्द्र शाहको मृत्यु भएको हो ।
बालकुमारी–ग्वार्को सडक खण्डमा आन्दोलन गरेका उनीहरू र प्रहरीबिच झडप भएको थियो । त्यही क्रममा प्रहरीले हवाईफायर गर्नुका साथै अश्रुग्यास समेत प्रहार गरेको थियो। प्रहरीले आन्दोलनकारीहरूलाई तितरवितर पार्न लाठ्ठी समेत प्रहार गर्यो । प्रदर्शनका क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा२झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए । त्यसपछि आन्दोलन उग्र बनेसँगै प्रहरीले गोली चलाएको थियो ।
मन्त्रीको गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले ५० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ ।
कोरियाले सन् २०२३ मा जहाज निर्माण क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो । जसमा ३५ हजार ४७८ जनाले आवेदन भरेका थिए । तीमध्ये परीक्षामा भने ३२ हजार ५०७ जना सहभागी भए । यसैगरी ४ हजार ९८ जना उत्तीर्ण भए । बाँकी अनुत्तीर्ण भएका र आवेदन भरेर परीक्षामा सामेल नभएका गरी ३१ हजार ३८० जना उत्पादनमूलक क्षेत्रका लागि आह्वान गरिएको सूचनामा आवेदन भर्न पाएनन् ।
ईपीस कोरिया शाखाले मंसिर १९ गते एउटा सूचना जारी गरी ईपीएसमार्फत कोरियामा उत्पादनमूलक क्षेत्रमा काम गर्न जानका लागि आवेदन आह्वान गरिएको थियो ।
अदालतको अन्तरिम आदेश:
आवेदन फाराम भर्न नपाउने भएपछि उनीहरूले ईपीएस कोरिया शाखामा ज्ञापनपत्र बुझाए । ज्ञापनपत्रले काम नगरेपछि सुरज पाठकसहितका १८ जनाले उच्च अदालत पाटनमा मुद्दा दायर गरे । अदालतले पनि निवेदकहरूको हकमा मात्रै आदेश जारी गरिदियो । अदालतले भन्यो,‘निवेदकहरूको हकमा आवेदन फाराम भर्न रोक नलगाउनु र निवेदकहरूलाई फाराम भर्न दिनु ।’ अदालतको अन्तरिम आदेश अनुसार ईपीएस शाखा कार्यालयले सूचना जारी गरेर फाराम भर्न आउन भन्यो । सोही आधारमा उनीहरू १८ जनाले नै आज आवश्यक कागजातसहित ईपीएस शाखा कार्यालयमा निवेदन दिए ।
१८ जनाले मात्रै फाराम भर्न पाएपछि सीप बिल्डिङमा आवेदन दिएर उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाएकाहरू ईपीएस कार्यालय घेराउ गर्न पुगे । बिहान सुरुमा ईपीएस कार्यालय परिसरमै नारा जुलुस गर्दै आएका थिए । त्यो बेला २ हजारभन्दा बढीको हाराहारीमा युवाहरू भेला भइसकेका थिए ।
ठूलो भीड जम्मा भएपछि उनीहरू बालकुमारी–ग्वार्को सडक खण्डतर्फ लागे । जहाँ प्रहरीले उनीहरूमाथि बल प्रयोग गरिदियो । प्रहरीको लाठ्ठी चार्जपछि उनीहरू पनि उग्र बन्न पुगे । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको गाडीमा आगजनी गरे ।
मन्त्रीकै गाडीमा आगजनी गरेपछि प्रहरी झन् उग्र बन्यो । त्यही क्रममा दुई जना ज्यान गुमाउन पुगे ।
ईपीएस कार्यालयका निर्देशक गुरुदत्त सुवेदीले सुरक्षा निकायलाई शान्तिपूर्ण धर्नामा कुनै अप्रिय घटना नहोस् भन्नेतर्फ सचेत गराउदा गराउदै दु:खद घटना भएको बताए ।
अदालतको अर्को आदेश:
सडकमा दुई जनाले ज्यान गुमाएपछि उच्च अदालत पाटनबाट अर्को आदेश आएको छ । ती १८ जना बाहेकका अन्य इच्छुकलाई समेत उक्त प्रक्रियामा सामेल गराउन भनि अन्तरिम आदेश जारी गरेको छ । अब उक्त आदेश अनुसार सीप बिल्डिङ क्षेत्रका ३१ हजारभन्दा बढीलाई नै सहभागी गराउनु पर्ने भएको छ । यसबारेआदेश प्राप्त भएपछि छलफल गरेर अघि बढ्ने निर्देशक सुवेदीले बताए ।