Nepali News Portal

सभामुख र राष्ट्रपति कार्यालयबिच किन बढ्यो तिक्तता ?

काठमाडौँ । संघीय संसद्को महासचिव नियुक्तिका विषयमा सभामुख र राष्ट्रपति कार्यालयबिच तिक्तता बढेको छ । गत मङ्सिर २४ गते आफ्नो ८ महिना कार्यकाल बाँकी छँदै महासचिवबाट भरतराज गौतमले राष्ट्रपति समक्ष राजीनामा पेस गरे । लगतै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सभामुख देवराज घिमिरेले राष्ट्रपतिलाई हाल कार्यवाहक महासचिव तोकिएका प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवमा नियुक्तिका लागि सिफारिस गरे ।घिमिरे सभामुख भएपछि महान्यायाधिवक्ताको कार्यालयबाट ल्याएर पाण्डेलाई प्रतिनिधि सभाको सचिव बनाइएको थियो । संसद् सेवामा अचानक प्रवेश भएका उनलाई प्रतिनिधि सभाको सचिवमा बहाल रहेकै बेला र महासचिव गौतमको राजीनामा स्वीकृत नभएको अवस्थामा नियुक्तिका लागि सिफारिस भएपछि रीतपूर्वक सिफारिस नआएको भन्दै राष्ट्रपति कार्यालयले अध्ययनका लागि भनेर राखेको छ ।
सभामुख घिमिरेले पाण्डेयलाई नियुक्त गर्न बारम्बार ताकेता गरे पनि राष्ट्रपति रामचन्द्र पौडेलले रीत नपुगेको बताउँदै अध्ययनका क्रममा रहेकोले तत्काल नियुक्त नगर्ने बताएपछि सभामुख घिमिरे आक्रोशित बनेका छन् । उनले राष्ट्रपतिले आफ्नो सिफारिस होल्ड गरेपछि अदालतसम्म जान सक्ने सङ्केत गरेका छन् । राष्ट्रपतिले तत्काल नियुक्त गर्ने नदेखिएपछि बुधबार सभामुख घिमिरेले पाण्डेयलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएका छन् ।

 

You might also like
Leave A Reply

Your email address will not be published.