बुटवल । लुम्बिनीमा बौद्ध दर्शन र संस्कृतिका प्रवर्द्धन गर्ने उद्देश्यसहित आज शुक्रबारबाट विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु भएको छ ।
उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला श्रीपालीले बौद्ध पुरातत्त्व तथा स्थलसहित संस्कृतिको विकासमा चिनिया यात्रीहरुको ऐतिहासिक भूमिका रहेको भन्दै त्यो रुटको विकासले नेपाल, चीन तथा भारतको बौद्ध संस्कृतिलाई जोड्ने बताइन् । उनले बिआरआईले नेपालको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोष तथा बेल्ड एण्ड रोड इनिसेटिभको संयुक्त आयोजनामा प्रदर्शनी गरिएको हो ।
बिआरआईको १० औं बार्षिकोत्सवको अवसरमा लुम्बिनीमा कार्यालयसमेत स्थापना भएकोे छ । चीनको यो महत्त्वपूर्ण परियोजनामा नेपालले सन् २०१७ मे १२ मा हस्ताक्षर गरेको थियो । क्षेत्रीय एकीकरणमा सुधार गर्दै रेल्वे, सडक, पूर्वाधार विकासमा साझेदारी गर्ने योजना यो परियोजनाको छ ।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्याहरक्याल लामाले सिल्करोडमार्फत् सांस्कृतिक र आर्थिक विकास गर्नुपर्ने भन्दै बिआरआई परियोजना छिट्टै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्य बौद्ध दर्शनको व्यवहारिक अनुशरण आवश्यक रहेको भन्दै बौद्ध संस्कृति प्रदर्शनी नियमित गरिरहन आवश्यक रहेको बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु बजिरले बौद्ध संस्कृतिको प्रदर्शनीले बौद्ध दर्शनलाई बुझ्न सहयोग गर्ने धारणा राखे ।
प्रदर्शनीको अवसरमा बौद्ध संस्कृतिका विषयमा विभिन्न कार्यपत्र प्रस्तुत भई विज्ञहरुबाट गहन छलफल पनि भएको थियो ।